नेपालको केन्द्रीकृत राज्य निर्माणमा पृथ्वीनारायणको योगदान छ : प्रधानमन्त्री दाहाल

2017/01/10 6:20:23 PM

भरतपुर, २६ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्ती र केन्द्रीकृत राज्य बिस्तारमा पृथ्वीनारायण शाहको योगदान रहेको बताएका छन्।

चितवनको भरतपुरमा रहेको भरतपुर उपमहानगरपालिकाको तेस्रो नगर परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्। नगर परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, ‘नेपालको केन्द्रीकृत राज्य निर्माणमा पृथ्वीनारायणको योगदान छ । तर, उनले बनाएको राज्य एकात्मक र सामन्ती राज्य नै हो । पृथ्वीनारायणले भुरेटाकुरे राज्यहरुलाई केन्द्रीकृत गरेर बलियो राज्य बनाए, उसको अधिमूल्यन र अवमूल्यन दुवै गलत हुन्छ । पृथ्वीनारायण शाहले राज्य बिस्तार मात्रै गरे वा राष्ट्रिय एकताको पनि नेतृत्व गरे ? यो नेपाली राजनीतिमा अहिले पनि बहसकै विषय छ । यो बहसको निरुपणले मात्रै पृथ्वीनारायणबारे सही निष्कर्षमा पुग्न सकिन्छ ।’

चितवनको विकासबारे बोल्दै प्रधानमन्त्रीले भने, ‘मैले केही दिन पहिल्यै मात्रै स्थानीय तह पूनर्संरचनाको रिपोर्ट बुझेको छु । चितवन अब महानगरपालिका बन्दैछ । हामी सबै महानगरपालिकाका बासिन्दा हुँदैछौं । मैले प्रतिवेदन बुझिसकेको छु, अब कार्यान्वयनको प्रक्रियातिर अघि बढिसकेको छ । महानगरपालिकाको मापदण्डमा पनि हाम्रो आफ्नै सीमा छ, विकासको गति र जनघनत्वका आधारमा हामीले महानगरपालिका मौलिक रुपमै बनाउँदै आएका छौं । चितवन विकासको बहुआयमिक सम्भावना बोकेको जिल्ला हो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार