मधेशी मोर्चाले बिना शर्त अब चुनावमा भाग लिनुपर्छ : पौडेल

2017/01/11 4:01:48 PM

Shares

काठमाडौं, २७ पुस। प्रमुख दल नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले संसदमा संशोधन प्रस्ताव टेबुल गरिसकेकोले मधेशी मोर्चाले अब निसन्देह चुनावमा भाग लिनुपर्ने बताएका छन्।

बुधबार रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा बरिष्ठ नेता पौडेलले मधेशी मोर्चाले अब चुनावमा जानको लागि कुनै शर्त राख्न नहुने बताएका हुन्। उनले अघि भने,‘अब मोर्चाले चुनावमा भाग लिनुपर्छ, उहाँहरुले हामीसँग संशोधन विद्येयक संसदमा टेबुल भएपछि चुनावमा जान्छौं भन्नुभएको थियो, अब विद्येयक पास नभएसम्म चुनावमा जाँदैनौं भनेर अड्को थाप्नुहुँदैन।’

नेता पौडेलले संविधान कार्यान्वयनको लागि पनि चुनाव अनिवार्य आवयश्क भएको बताउँदै सबै दलहरु अब चुनावमा केन्द्रित बन्नुपर्ने धारणा राखे। उनले भने,‘मधेशी मोर्चालेपनि अब संशोधन विद्येयकलाई आधार मानेर चुनावमा जानुपर्छ, अब चुनावको लागि मोर्चा तयार हुनुपर्छ।’

बरिष्ठ नेता पौडेलले संशोधन गरेर मात्रै चुनावमा जाने कुरा अहिले असंभव रहेको जिकिर गरे। उनले भने,‘मुलुकलाई अब चुनावी प्रक्रियामा लैजानुपर्छ। चुनाव र संशोधन सँगसँगै जानुपर्छ। संशोधनको लागि समय लाग्छ। सहमति आवश्यक छ।’ उनले सरकारले तत्काल चुनावको मिति घोषणा गर्नुपर्ने माग गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार