चुनाव हुँदैन कि भनेर शंका नगर्नुहोस् : देउवा

2017/03/20 2:16:28 PM

काठमाडौं, ७ चैत्र। प्रमुख दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अबको चुनावमा काँग्रेसलाई पहिलो पार्टी नबनाए प्रजातन्त्र नै संकटमा पर्ने बताएका छन्।

सोमबार भक्तपुरमा महानायक गिरिजाप्रसाद कोइरालाको ७ औं स्मृति दिवसको अबसरमा विचारप्रधान मासिक काँग्रेसले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै सभापति देउवाले आगामी ०७४ माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन गर्नुपर्ने बाध्यता भएकोले सबै दलहरु चुनावको तयारीमा जुट्नुपर्ने बताए।

उनले मुलुकको प्रजातन्त्रलाई रक्षा गर्न र स्वर्गीय गिरिजाबाबुको सपनालाई साकार पार्नको लागि पनि अबको निर्वाचनमा काँग्रेसले जित्नुपर्ने बताए।

सभापति देउवाले अब पनि चुनाव हुँदैन कि भनेर कसैलेपनि आशंका गर्न नहुने स्पष्ट पारे। उनले भने,‘चुनावको तयारीमा सबै जुट्नुपर्छ, अब पनि चुनाव हुँदैन कि भनेर कसैले पनि शंका गर्नुहुँदैन्, तोकिएकै मितिभित्र चुनाव गर्नुपर्छ, यसको लागि हाम्रो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्छ।’ उनले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई चुनावमा होमिन र अबको चुनावमा पार्टीलाई पहिलो बनाउन अपिल गरे।
गिरिजाबाबुको सपना पूरा गर्न काँग्रेसलाई पहिलो पार्टी बनाउनुपर्छ : धिताल

त्यस्तै पार्टीका युवा नेता विष्णु धितालले पनि स्वगीय गिरिजाबाबुको योगदानलाई कसैलेपनि भुल्न नसक्ने बताए। उनले गिरिजाबाबुले देखाएको बाटोमा पार्टीका नेता तथा कार्यकर्ताहरु सबै एकजुट भएर लाग्नुपर्ने धारणा राखे। धितालले अब हुने तीनै तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाउनको लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।
उनले मुलुकमा संविधान जारी भैसकेकोले अब यसको कार्यान्वयनसँगै मुलुकलाई आर्थिक समृद्धिका दिशामा डोर्याउनुपर्ने बताए। उनले भने,‘अब मुलुकको आर्थिक विकासको लागि हामी सबैले ध्यान दिनुपर्छ।’ अब पनि आर्थिक समृद्धिको लागि ढिला गर्न नहुने धारणा राखे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार