प्रमुख तीन दलको बैठकमा एमाले नरम, सिमांकनबाहेकका विषय टुँगो लगाउने तयारी

2017/03/20 1:26:34 PM

काठमाडौं, ७ चैत्र। सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेता सम्मिलित बैठक बिना निश्कर्ष सम्पन्न भएको छ।
सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा कुनैपनि विषयमा सहमति हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ। आजको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव थाति राखेर अघि नबढे स्थानीय तहको निर्वाचन प्रभावित हुने चेतावनी दिएका थिए।

सत्तारुढ काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव थाँती नराखे निर्वाचन प्रभावित हुनेतर्फ सचेत गराएका थिए। बैठकको सुरुवातमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिमांकन बाहेकका विषयलाई पारित गराउनुपर्ने प्रस्ताव राखेका थिए। प्रधानमन्त्री दाहालको उक्त प्रस्तावमा ओली सकारात्मक भएपनि आजै यसबारेमा कुनै ठोस सहमति भने हुन सकेन्।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचनमा मधेसी मोर्चालाई पनि सहभागी गराउने विषयमा आफूले छलफल गरिरहेकोले मोर्चालाईपनि साथमै लिएर जानको लागि एमालेले हल्का लचकता अपनाउनुपर्ने धारणा राखेका थिए। प्रधानमन्त्री दाहालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘सिमाकंनलाई थाँती राखेर अघि बढ्नुपर्छ, यसो भयो भने मोर्चापनि चुनावमा भाग लिन्छ, तर चुनावपछि सिमांकनको विषय पनि उच्चस्तरीय समितिमार्फत हल गर्नुपर्छ।’

सरकारले सीमांकन बाहेकका विषयमा संविधान संशोधन गरेर भएपनि मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउने प्रयास गर्दै आएको छ। बैठकमा प्रधानमन्त्री दाहालले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने दृढता व्यक्त गरेका थिए।

प्रधानमन्त्री दाहालले मधेसी मोर्चाको माग सम्बोधन गर्ने विषयमा छलफल गर्न अपरान्ह पनि प्रमुख प्रतिपक्ष एमालेसहितको बैठक बोलाएका छन्। प्रधानमन्त्री दाहालले मधेसी मोर्चाका नेताहरुलाई स्थानीय तहको निर्वाचन लगत्तै आयोग बनाएर सीमांकन सम्बन्धि समस्या समाधान गर्ने प्रतिवद्धता जनाउँदै आएका छन्। सत्तारुढ दुई ठूला दल काँग्रेस र नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचनमा मधेसी मोर्चालाई सहभागी गराउने गरी छलफललाई तीव्रता दिँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार