Logo

एमालेले ६० प्रतिशत स्थानमा जित्ने दाबी पुष्टि भयो : सचिव भट्टराई



काठमाडौ., २ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले ६० प्रशित स्थानमा जित्ने दाबी गरे । उनले भने,‘निर्वाचन परिणाम हेर्दा एमालेले ६० प्रशित स्थानमा विजयी हुन्छ, मैले निर्वाचन हुनुभन्दा २० दिनअघि यही रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा यो दाबी गरेको थिएँ, अहिले दाबी पुष्टि भयो ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले दोस्रो चरणको निर्वाचन सम्पन्न हुन बाँकी रहेको बताउँदै नेपाली जनताहरुले एमालेप्रति आम नागरिकहरुले विश्वास लिएको बताए । उनले निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएकोले पहिलो चरणको निर्वाचनले लोकतान्त्रिक व्यवस्थालाई वैद्यता प्राप्त भएको स्पष्ट पारे । उनले पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै संविधानसभाबाट जारी भएको संविधान जनताबाट अनुमोदित भएको समेत दाबी गरे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘हाम्रो संविधान÷लोकतन्त्र जनताको घरदैलोमा पुगेको छ, निर्वाचनले यस्तो वातावरण बनाएको छ ।’ उनले चुनावी तालमेल वा समिकरणलाई नौलो रुपमा कसैले पनि हेर्न नहुने जिकिर गरे । यद्धपी उनले निर्वाचनको मुखैमा आएर वा निर्वाचन प्रक्रिया सुरु भएपछि तालमेलको घोषणा गर्नु वा गर्नु चाहीँ अशोभनीय भएको टिप्पणी गरे ।

भट्टराईले काँग्रेस र माओवादी केन्द्रवीच भएको चुनावी तालमेललाई लक्षित गर्दै भने,‘काँग्रेसले पहिलोपटक चुनावी तालमेल गरेको छ, यसको मतलव काँग्रेस ईतिहाँसमै कमजोर भएको छ, आफ्नो साखः जोगाउन काँग्रेसले सहयोगको याचना गर्यो ।’ उनले काँग्रेस–माओवादी केन्द्रवीचको तालमेललाई निजी स्वार्थको लागि गरिएको आरोप लगाए।

त्यस्तै उनले जनताले आफ्नो पार्टीलाई बहुमतको सरकार चलाएको हेर्न मन भएको तर्क गर्दै भने,‘नेपाली जनता यतिवेला हाम्रो पार्टीलाई बहुमतमा पुर्याउनको लागि व्यग्र प्रतिक्षमा छन्, नेपालमा काँग्रेसलाई जनताले पटक पटक बहुमत दिएका हुन्, तर काँग्रेसले देश र जनताको लागि केही पनि गर्न सकेन ।’

सचिव भट्टराईले निर्वाचन बजेट अघि नै गर्नुपर्ने भन्दै आफ्नो पार्टीले पटक–पटक ध्यानाकार्षण गराएको उल्लेख गर्दै अहिलेपनि जेठ १५ गते अघि नै दोस्रो चरणको निर्वाचन गर्नुपर्ने बताए । उनले प्रश्न गरे,‘कसको लागि कुर्ने हो ? किन पर्खने ?’

मधेशी मोर्चाकै प्रमुख घटक उपेन्द्र यादवले रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आफू जन्मिएको माटोले चुनावमा जा भन्यो त्यही भएर निर्वाचनमा भाग लिएको भनेर दिएको अभिव्यक्ति अत्यन्तै सान्र्दभिक भएको समेत उनले बताए । उनले भने,‘एउटै माँग राखेर हिँडेका उपेन्द्र चुनावमा जाने तर महन्थ ठाकुरजी चाहीँ किन नजाने ?’

त्यस्तै उनले सरकारले यही जेठ ४ गते बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्ताव पारित गराउने भन्ने कुरा सुनिएपनि कुनै पनि हालतमा संशोधन पारित नहुने दाबी गरे ।

उनले पहिलो चरणको निर्वाचनको मतगणना अत्यन्तै ढिला भएको भन्दै असन्तुष्टि जनाए । उनले भने,‘देशभरि नै एकै चरणमा निर्वाचन गर्न सक्ने जनशक्ति भएको निर्वाचन आयोगले किन मतगणना ढिलाई गर्नुपर्यो, भएको जनशक्ति खटाउनुहोस् ।’ उनले अर्को दुई दिनभित्रै सम्पूर्ण निर्वाचनको मतपरिणाम घोषणा हुनुपर्ने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्