Logo

संविधान संशोधन प्रस्तावको पक्षमा ३७ जनाले नै एक ढिक्का भएर मतदान गर्छौं : कमल थापा, अध्यक्ष–राप्रपा



राप्रपाका अध्यक्ष कमल थापाले दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले पहिलो चरणकोभन्दा उल्लेख्य रुपमा राम्रो नतिजा ल्याउने विश्वास दिलाएका छन् । पहिलो चरणको निर्वाचनमा एमालेसँग चुनावी तालमेल गरेको कारणले पनि आफ्नो पार्टीलाई केही असर परेको उनको तर्क छ । त्यस्तै, उनले राप्रपाले हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको एजेण्डा कदापि नछोडेको समेत दाबी प्रस्तुत गरे । उनले भने,‘राप्रपा मन, वचन र कर्मले यी मुद्दामा अडिग छ। हामी यही वैकल्पिक बाटोमा राजनीतिक निकास खोजिरहेका छौँ।’ अध्यक्ष थापासँग पत्रकार ऋषि धमलाले यीनै विषयमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश :

दोस्रो चरणको निर्वाचनमा तपाईको पार्टीको स्थिति के हुन्छ ?

हामीले सबै ठाउँमा उम्मेद्वारी दिएका छौँ । पहिलो चरणको निर्वाचनमा हामीले सोचेकोजस्तो परिणाम आएन्। त्यसलाई समिक्षा गरेर अघि बढ्ने र राम्रो परिणाम ल्याउनेमा हामी लागिरहेका छौं ।

राप्रपाले गाई चिन्हको कारण हामीले हारेको हो भनिन्छ नि ?

चुनाव चिन्हको कारण निर्वाचन हार्ने र जित्ने हुँदैन। त्यो विषयलाई अहिले ब्याख्या गर्न चाहन्न । आज हजारौ कार्यकर्ता निर्वाचनको मैदानमा उत्रिएका छन् । यस्तो कसैले हल्ला गरेको छ भने त्यस्तो नगर्न अनुरोध गर्छु।

एमालेसँगको तालमेल गर्दाखेरि राप्रपाले निर्वाचनमा पराजय भोग्नुपरेको पनि भनिन्छ नि त ?

केही हदसम्म त्यो कुरा पनि ठिकै हो । भनेजस्तै त भएको होईन ।

उसो भए अब दोस्रो चरणको निर्वाचनमा एमालेसँग तालमेल नगर्ने त ?

होईन । केही जिल्लामा केही राजनीतिक दलसँग तालमेल हुन्छ । तालमेलको अर्थ बिचारसँग जोडिदैन् ।

तालमेलले फाईदा गर्छ या बेफाईदा ?

तालमेल निर्वाचन जित्नको लागि हो। फरक बिचार भएका पार्टीकाबीचमा तालमेल भएको छ। नेपालमा जति पनि स्थापित् पार्टीछन् ती पार्टी भन्दामाथि रहेर फरक बिचार बोकेको पार्टी राप्रपा हो । विकल्पको पार्टी हो । अलग पहिचान लिएर अघि बढ्ने सोच हाम्रो हो।

यसरी तपाईले भनिरहँदाखेरी जनताले त मन पराएनन् नि ?

होईन । समग्र रुपमा देशभरिको मतलाई हेर्दा राम्रो मत पाएका छौँ। जुन जनमतलाई एकिकृत गर्न सकेनांै । अर्कोतर्फ काँग्रेस, एमाले र माओवादीले जुन सामग्रीको प्रयोग सकेनौ ।

देशको चौथो शक्ति राप्रपाको हालत त नसोचेको भयो नि ?

केही भएको छैन्। मैले केही कमजोरी पनि बताएँ। अरुपनि केही कुराहरु छन्। जस्तो सरकारमा सहभागि हुने, केही मुद्दाहरूको बारेमा जुन भ्रम छरियो त्यसलाई सययमै चिर्न सकेनौं । आउने निर्वाचनमा सुधार गर्नेछौँ ।

३३४ स्थानीय निकायमा तपाईको पार्टीको स्थान के रहन्छ ?

त्यसको बारेमा अहिले नै भविष्यवाणी गर्न चाहन्न तर पहिलेकोभन्दा सुधार हुनेछ । केही महत्वपूर्ण स्थानमा विजय हाँसिल गर्नेछ ।

कमल थापाले हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा छोड्नुभयो नि ?

हो, यस्ता भ्रमहरू तपाईजस्तो पत्रकारबाट हुन्छन् । राप्रपासँग र मसँग नजिक रहेको व्यक्तिले यस्तो कुरा गर्नुहुँदैन्। बिचार पार्टीको विधानमा हुन्छ। पार्टीको घोषणा पत्रमा हुन्छ। हामलिे हिन्दुराज्य र संवैधानिक राजसंस्थाको माँग गरेका छौँ। मैले जनताकोबीचमा जाँदा यो कुरा भनेको छु । यही किसिमका भम्र कुरा छरिएका छन् । म यसका बारेमा भ्रम चिर्न चाहन्छु । राप्रपा मन, वचन र कर्मले यी मुद्दामा अडिग छ। हामी यही वैकल्पिक बाटोमा राजनीतिक निकास खोजिरहेका छौँ।

संविधान कार्यान्वयन गर्न चाहने व्यक्ति पनि भन्ने अनि यस्ता मुद्दाको मालिक हो पनि भन्ने ?

होईन, ऋषि जी । हाम्रो प्रयास निरन्तर छ । हामीले हाम्रा मागहरूकै पक्षमा मत हालेका छौँ। हाम्रोबीचमा ९० प्रतिशत जनताका प्रतिनिधिहरुकाबीचमा संविधान जारी भयो । कि त त्यसलाई च्याँतेर जलाउनुपर्यो या त बन्दुक उठाउनुपर्यो । होईन भने, संविधानको परिधिमा रहेर आफ्ना माग सम्बोधनको लागि लड्नुपर्यो । यहि कारणले हामीले नचाहँदा नचाहँदै यो संविधान स्विकार गर्नुपरेको छ। धर्मनिरपेक्षता, गणतन्त्र कायम छन् । यस संविधानले अधिकार दिएको छ। आफ्ना मागहरू जनताकोबीचमा लिएर जाउँ र जनताले जे भन्छन् त्यही गर भनेको छ। यसलाई हामीले प्रजातान्त्रिक कोणबाट सम्बोधन गर्नको लागि लडिरहेकाछौँ।

राजतन्त्र र हिन्दुराष्ट्र सम्भव छैन् भन्नेमा तपाई हो ?

यो कस्तो प्रश्न हो ? १२ वर्षसम्म रामायण पढायो सिता कसकी जोई भन्याजस्तो नगर्नुस न । तपाइले यस्तो भ्रम छर्नु भएन । जनताले पनि यस्तै बुझ्छन् नि । जनताकाबीचमा गएर धर्मनिरपेक्षताका समर्थकहरूले राजसंस्थालाई मान्ने पार्टीलाई पनि भोट दिनेजस्तो भ्रम फैलाईयो । कुनै एउटा निर्वाचन हार्दैमा विचार हारेको मानिँदैन् । फेरी पनि आग्रह गर्दछु । सरकारमा जानु भनेको माग छोड्नु होईन। जनतालाई विश्वस्त रहन आग्रह गर्छु ।

संविधान संशोधनको लागि पहल गर्नुहुन्छ ?

निश्चय पनि । हामीले नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्छ भनेर संशोधन विद्येयक पेस गरेका छौँ । उपर्युक्त समयमा त्यो उठाउँछौँ। जनताको भावना र मुलुकको विकासको पक्षमा हामी छौँ। पार्टीको स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ ।

संविधान संशोधनमा राप्रपाका सांसदले मतदान गर्छन् ?

निश्चित् पनि । पार्टीको धारणा र मुलुकको हित हुने काममा हामी तयार छौँ । ३७ जना सांसदले एक ढिक्का भएर संशोधन प्रस्तावको पक्षमा मतदान गर्छौं ।



प्रतिक्रिया दिनुहोस्