Logo

यस्तो देखियो काठमाडौँ महानगरको उम्मेदवारी दर्ता



काठमाडौँ, १९ वैशाख । पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ महानगरपालिकामा विभिन्न राजनीतिक दलका उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् ।

आगामी बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनको उम्मेदवारी मनोनयन आज बिहान १० बजेबाट सुरु भई ५ बजे सकिएको थियो । प्रमुख राजनीति दलसहितका अन्य दल र स्वतन्त्र उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन पत्र दर्ता गर्नका लागि प्रर्दशनीमार्गस्थित राष्ट्रियसभाको हलमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएका थिए ।

दिउँसो साना दल र केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराए पनि अन्तिम समयमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख तथा उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारहरु बाजागाजासहित आफ्नो पार्टीको झन्डा बोकी उम्मेदवारी दर्ता गराउन आएका थिए ।

सबभन्दा पहिला साझा पार्टीका किशोर थापाले उम्मेदवारी दर्ता गराउनुभएको थियो । उम्मेदवार मनोनयनका लागि निर्वाचन कार्यालयले प्रमुख र उपप्रमुख पदका उम्मेदवारका लागि छुट्टाछुट्टै ठाउँमा मनोनयन दर्ताको व्यवस्था गरेको थियो भने वडाका लागि पनि छुट्टै ठाउँमा दर्ता गर्ने व्यवस्था गरिएको थियो ।

महानगरको उम्मेदवारी स्थलमा निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले पनि निरीक्षण गर्नुभयो । निरीक्षणका क्रममा उहाँले देशभरि नै उत्साहपूर्वक उम्मेदवारी दर्ता गरेको बताउनुभयो ।

मनोनयन दर्ताका लागि ३ बजेपछि उम्मेदवारको भीड लागेको थियो । सबभन्दा ठूलो महानगरपालिका भएकाले पनि धेरै उम्मेदवारले मनोनयन दर्ता गराउन आएका थिए । उम्मेदवारको मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयलाई हम्मेहम्मे परेको थियो ।

साँझ ६ बजेसम्म वडा अध्यक्ष र सदस्यको उम्मेदवार मनोनयन गर्न उम्मेदवारहरु लाइनमा बसेका थिए । उम्मेदवार मनोनयन गराउनका लागि सम्पत्ति विवरण पनि भर्नु पर्ने अनिवार्य व्यवस्था भएका कारण कतिपयलाई सम्पत्ति विवरण भर्न समस्या परेको थियो । उम्मेदवारीको फारम लिएर उम्मेदवारले बाहिर चौरमा बसेर फाराम भरेको देखिन्थ्यो ।

उम्मेदवार दर्ता गराउन सङ्घीय समाजवादी फोरमबाट तालमेल गरेका नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई प्रमुख र उपप्रमुखको उम्मेदवारी दर्ता गराउन आफैँ आउनुभएको थियो ।

डा भट्टराईले मुलुक निर्वाचनमा गएको भन्दै एउटै विचार मिल्ने भएकाले सङ्घीय समाजवादी फोरमसँग तालमेल गरेको बताउनुभयो । उहाँले आफ्नो केही असहमति भए पनि निर्वाचनमा भाग लिएको प्रतिक्रिया व्यक्त गर्नुभयो ।

संविधान संशोधन बिना देशको निकास निकाल्न नसकिने भन्दै सङ्घ, प्रदेश र स्थानिय तहको क्रमशः निर्वाचन हुनुपर्नेमा उल्टो गरि निर्वाचन गर्न थालेको बताउनुभयो ।

संयोजक भट्टराईसंगै आउनु भएका सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले जनताको प्रत्यक्ष विकाससँग जोडिएकाले स्थानीय तहको निर्वाचनमा भाग लिन आएको प्रतिक्रिया दिनुभयो ।

नेपाली काँग्रेसतर्फबाट आफ्नो दाजु राजुराज जोशी प्रमुख पदका उम्मेदवार बन्नुभएकोमा उद्योगमन्त्री नवीन्द्रराज जोशी पनि उहाँसंगै उम्मेदवारी दर्ता स्थल सभागृहमा आइपुग्नुभएको थियो ।

आफ्नो पार्टीकातर्फबाट उम्मेदवार दर्ता गराउन आउनुभएका एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफ्नो मुख्य प्रतिस्पर्धी काँग्रेस भएको बताउनुभयो ।

उहाँले राप्रपासँग राष्ट्रियताका सवालमा मुद्दा मिल्ने भएकाले तालमेल गरेको बताउनुभयो । काठमाडाँैसँगै अन्य ठाउँ पनि राप्रपासँग तालमेल गरिने समेत जानकारी गराउनुभयो ।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच प्रमुख र उपप्रमुखमा तालमेल भए पनि छुट्टाछुट्टै रुपमा उम्मेदवारी दर्ता गराउन आउनुभएको थियो ।

एमालेका तर्फबाट प्रमुखमा विद्यासुन्दर शाक्य र उपप्रमुखमा राप्रपाबाट राजाराम श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

नेकपा (माओवादी केन्द्र)बाट प्रमुखको उम्मेदवार बन्नुभएका सर्वोेत्तम डङ्गोल आफ्ना कार्यकतासँग उम्मेदवारी दर्ता गराउन आउनुभएको थियो । ३२ वडा रहेको महानगरमा प्रमुख, उपप्रमुख वडा अध्यक्ष र चार सदस्यसहित १६२ जना निर्वाचित हुने छन् । रासस



प्रतिक्रिया दिनुहोस्