Logo

पोखरा लेखनाथ महानगरपालिकामा मतगणना हुन सकेन



काठमाडौं ७ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १७ को मतगणनाका क्रममा मतपत्रमा प्रयोग भएको स्वस्तिक छापको आकार साविकको भन्दा फराकिलो देखिएको भन्दै शनिबार दिउँसोदेखि स्थगित मतगणना अझै सुरु हुन सकेको छैन ।

मतगणनाका क्रममा सूर्यमा छाप लगाइएका केही मतपत्रमा साविकको भन्दा फराकिलो आकारको स्वस्तिक छाप प्रयोग भएको र हस्ताक्षरमा पनि फरक देखिएको भन्दै त्यसको छानबिनको माग गर्दै नेपाली कांग्रेससहितका दलका प्रतिनिधि बाहिरिएपछि मतगणना कार्य स्थगित गरिएको हो ।

मतगणना स्थगित भएपछि निर्वाचन कार्यालयले सर्वदलीय बैठक राखे पनि अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन । शुक्रबार चितवनको भरतपुर महानगरपालिकामा पनि मतगणना स्थगित भएको थियो । शनिबार बिहान सर्वदलीय बैठक बसेर १० बुँदे सहमति गरेपछि भरतपुरमा मतगणना सुरु भएको थियो ।

पोखरा लेखनाथ महानगरपालिकामा भने अहिले सम्म एमालेका मानबहादुर जिसीले अग्रता लिई राख्नुभएको छ । उहाँले २० हजार ५ सय १ मत ल्याउनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका राजमजी कुँवरले १८ हजार ६ सय ७० मतका साथ पछ्याई रहनुभएको छ । त्यस्तै उपमेयरमा पनि एमालेकी मञ्जुदेवी गुरुङले १९ हजार ३ सय ६ मत ल्याएर अग्रता कायम गर्नुभएको छ । उहाँलाई नेपाली कांग्रेसकी सरस्वती गुरुङले १७ हजार ७ सय १२ मतका साथ पछ्याई रहनुभएको छ ।



प्रतिक्रिया दिनुहोस्