
काठमाडौं, ८ साउन ।नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले एक दुई दिनभित्रै मन्त्रिमण्डल बिस्तार गरिने बताउनु भएको छ । कांग्रेसका तर्फबाट मन्त्रालय बाँडफाँड कार्यदलमा रहेका नेता निधिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बैंककबाट आज स्वदेश फर्किए लगत्तै मन्त्रालय बाँडफाँडको काम टुंग्याएर मन्त्रिमण्डल बिस्तार गरिने उल्लेख गरे । उनले दोस्रो चरणको निर्बाचनका मन्त्रिमण्डल बिस्तारमा ढिलाई भएको प्रष्ट पारेका छन् ।
काठमाडौंको सतुंगलमा रहेको बागेश्वरी अस्पतालको दशौं बार्षिकोत्सवको उद्घाटन गर्दै पूर्ब उपप्रधानमन्त्री निधिले एक बर्ष संसदको म्याद थप्ने हल्ला निराधार भएको बताए । बर्तमान सत्तागठबन्धनका मुख्य दुई घटक कांग्रेस र माओवादी केन्द्र म्याद थप्ने पक्षमा नभएको उनको भनाई थियो । सोही आयोगले दिएको रिपोर्टका आधारमा मंसीर मसान्तभित्र प्रदेश र संघीय संसदको निर्बाचन हुने भनाई छ ।
मुख्य बिपक्षी दल एमालेले साथ नदिएका कारण संबिधान संशोधन प्रकृया अघि बढ्न नसकेको बताउँदै नेता निधिले भने‘संघीयता कार्यान्वयन र मधेशका समस्या समाधान गर्नका लागि अघि बढाइएको संबिधान संशोधनमा साथ नदिएबाट प्रष्ट हुन्छ एमाले मुलुकमा संघीयता चाहदैन ।’
संशोधनका पक्षमा दुई तिहाई नपुग्ने भएपछि तत्कालका लागि संशोधन प्रकृया स्थगित गरिएको बताउँदै उनले भने ‘पास नभए पनि मतदान प्रकृयामा जाउँ भनेर राजपाका नेताहरु भन्छन् भने कांग्रेस प्रकृया अघि बढाउन तयार छ ।’