Logo

संसदको आफ्नै भवन होस्, सांसदहरुलाई सरकारी आवास मिलोस् : सभामुख घर्ती



काठमाडौँ, १२ साउन । सभामुख ओनसरी घर्तीले संसदको आफ्नै भवन र सांसदहरुलाई सरकारी आवासका लागि प्रयास भइरहेको बताएकी छन् ।

बिहीबार संसदको मोबाइल एप्स तथा नयाँ वेबसाइटको संसद भवन बानेश्वरमा उद्घाटन गर्दै सभामुखले भाडाको घरमा संसद भवन राख्नुपर्दाको हिनता व्यक्त गरिन् ।

सांसदहरुलाई सम्बोधन गर्दै सभामुखले भनिन्, ‘संसदको आफ्नै भवन होस् । संसदको आफ्नै टेलिभिजन च्यानल होस् । सांसदहरुलाई आवास सुबिधा होस् । वास्तवमा हाम्रो त्यो चाहना हो र त्यस अनुसार पहल पनि भइरहेको छ ।’

सभामुख घर्तीले माघ ७ को समय सीमाभित्र सबै तहका चुनाव गरिसक्नुपर्ने भएकाले संसदको यहि कार्यकालमा संसदको आफ्नै भवन प्राप्त नहुने बताइन् । उनले सांसदहरुलाई आधुनिक प्रणालीमैत्री बनाउन वेबसाइट र मोबाइल एप्स जरुरी रहेको समेत बताइन् ।

सभामुख घर्तीले संसदलाई पेपरलेस बनाउने अभियान जारी रहेको बताइन् । युएनडिपीको सहयोगमा संसद सचिवालयले नयाँ वेबसाइट तथा एप्स बनाएको हो । यसमा संसदका सबै गतिबिधि समावेश गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्