साउन २३, काठमाण्डौ । यो साता शेयर कारोबार सकारात्मक देखिएको छ । पहिलो दिन एक अर्व रुपैयाँभन्दा बढिको कारोबार भएको शेयर बजारमा साताको दोस्रो दिन सोमबार पनि नेप्से परिसुचक सकारात्मक रहेको छ । समग्रमा बजार ०.१७ प्रतिशतले माथि लागेको हो ।
आइतबार ४ अंकले उकालो लागेको नेप्से साताको दोस्रो दिन सोमबारको कारोबारमा २ दशमलव ८९ अंकले उकालो लागेर १ हजार ६ सय ६७ दशमलव ९४ को बिन्दुमा कारोबार बन्द भएको छ । त्यसैगरी क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य ७ अंकले उकालो लागेर ३ सय ५० दशमलव १८ अंकमा बन्द भएकोछ ।
परिसुचक बढेपनि सोमबार कारोबार रकममा भने केही कमी आएको छ । आइतबार अर्बमाथिको शेयर किनबेच भएको बजारमा सोमबार १५९ कम्पनीको ९४ करोड ६० लाख ८३ हजार ३३२ रुपैयाँको शेयर किनबेच भएको छ ।
८ हजार ५ सय ७० वटाको कारोबारबाट ३९ लाख ४२ हजार ८० कित्ता शेयर किनबेच भएकोछ । सोमबारको कारोबारमा आएका आठ समूहमध्ये बैंकिङ, जलविद्युत र उत्पादन तथा प्रशोधन बाहेकका ५ समूह उकालो लागेकाछन् । सोमबारको कारोबारमा सबैभन्दा धेरै होटल समूह १९ दशमलव ६५ अंकले उकालो लागेर २ हजार ५ सय १० दशमलव ८१ अंकमा बन्द भएको छ । यसैगरी फाइनान्स १३ दशमलव ९ अंक, अन्य १३ दशमलव ८८ अंक, विकास बैंक ४ दशमलव ११ अंक र बीमा समूह ३ दशमलव ३९ अंकले उकालो लागेका छन् ।
त्यसैगरी सोमबारको कारोबारमा सबैभन्दा धेरै गुमाउनेमा जलविधुत समूहको १० दशमलव ५३ अंकले ओरालो लागेर १ हजार ९ सय ३२ दशमलव ३५ अंकमा बन्द भएको छ । त्यसैगरी बाणिज्य बैक शून्य दशमलव ५२, उत्पादन तथा प्रशोधन समूह ३ दशमलव ४४ले ओरालो लागेका छन् ।
सोमबार कारोबार रकमका आधारमा नागरिक लगानी कोषले अग्रता लिएको छ । नागरिक लगानी कोषको ६ करोड ७२ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको हो । यसैगरी, कारोबार रकमका आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ र नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।सोमबार सर्वाधिक कमाउनेमा लुम्बिनी विकास बैंकका लगानीकर्ता रहेका छन् । कम्पनीको शेयर मूल्य ६ दशमलव ०७ प्रतिशतले बढेको छ, भने सर्वा्धिक गुमाउनेमा कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले गिरावट आएको छ ।।