Logo

बाढी पीडित किसानहरुको लागि भदौ १० भित्रै विशेष राहत प्याकेज ल्याउँछु : मन्त्री यादव



‘ढुक्क हुनुहोस्, भोलि वा पर्सीभित्रै संविधान संशोधन प्रस्ताव पारित हुन्छ’
काठमाडौं, ३ भदौ । कृषि विकासमन्त्री रामकृष्ण यादवले बाढीबाट सबैभन्दा बढि कृषि क्षेत्रमा क्षति भएको भन्दै भदौ १० गतेभित्रै कृषिसम्बन्धी विशेष राहत प्याकेज घोषणा गर्ने स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले बाढीले सबैभन्दा बढि क्षति कृषिमा भएकोले त्यसको लागि सरकारले विशेष राहत प्याकेज घोषणा गर्ने जनाएका हुन् ।

उनले भने,‘कृषि क्षेत्रमा सबैभन्दा धेरै क्षति भएकोले हामी मर्माहत भएका छौं, यो अपुरणीय क्षति हो, भौतिक संरचना ध्वस्त भएका छन्, विद्यालय, पुल, प्रहरी चौकी सबै ध्वस्त भएका छन्, धान खेत नष्ट भएका छन्, माछापालनदेखि अन्य कृषिजन्य संरचनाहरु नै ध्वस्त भएका छन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री यादवले बाढीका कारण कृषिमा झण्डै ८ अर्ब ६४ करोड ३४ लाख रुपैयाँको क्षति भएको समेत आँकलन प्रस्तुत गरे ।

उनले थपे,‘बाढीका कारण धेरै क्षेत्रमा ठूलो मात्रामा क्षति भएको छ, जनधनको क्षति भएको छ, सरकारले राहत तथा उद्धारको लागि युद्धस्तरमा काम गरिरहेको छ, मृत्तकको परिवारलाई २ लाख र घर मर्मतको लागि २५ हजार दिने र दैनिक खाजा खर्चस्वरुप ७० रुपैयाँ दिने निर्णय गरिसकेका छौं।’ त्यस्तै उनले स्थानीय प्रशासनलाई समेत केन्द्रबाट अत्यावाश्यक समाग्रीहरु तत्काल वितरण गर्न दिर्नेशन दिईसकेको जानकारी दिए ।

मन्त्री यादवले त्रिपाल, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामाग्रीहरु एकद्धार प्रणालीमा वितरण भएको बताउँदै सरकारले राहतमा कुनै पनि किसिमको कमी आउन नदिन निर्देशन दिएको समेत स्प्ष्ट पारे ।

त्यस्तै उनले आफ्नो मन्त्रालय माताहतका करिब ७ हजार ५ सय कर्मचारीहरुबाट संकलित एक करोड २० लाख रुपैयाँ केही दिनभित्रै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेपनि जनाए । उनले भने,‘कोही कर्मचारीले ५ दिनको तलव दिनुभएको छ, कसैले ४ दिनको, कसैले ३ दिनको, त कसैले २ दिनको र कसैले एक दिनको पनि दिनुभएको छ।’

क्षति कति भएको हो र कति राहत दिने भन्नेबारे उच्चस्तरीय समिति गठन भएकोले यही भदौ १० गतेभित्रै विशेष राहत प्याकेज घोषणा गरिने मन्त्री यादवको भनाई थियो । उनले थपे,‘पीडितहरुको लागि हामीले विशेष राहत घोषणा गर्दैछौं, बैंकमा ऋण लिएका किसानहरुलाई कति छुट दिने, मिनाहा गर्न सकिने भए मिनाहा गर्ने यी सबै बारेमा अहिले समितिले काम गरिरहेको छ, के हुन्छ हामी चाँडै घोषणा गर्छौं।’

उनले पीडितहरुको राहत तथा उद्धारमा कुनैपनि कमी हुन नदिने समेत विश्वास दिलाए । उनले थपे,‘कृषि विकास बैंकबाट ऋण लिएकाहरुलाई ब्याज छुटदेखि मिनाहा वा के गर्न सकिन्छ त्यो बारेमा पनि हामी निर्णय गर्छौं।’

त्यस्तै उनले नष्ट भएका अन्नवाली, खेतिहरुलाई समेत ध्यान दिएर खेत पूनः रोप्न चाहानेहरुलाई विउ निशुल्क दिनेदेखि छुट समेत गरिने र माछाका भुरा उपलब्ध गराउने समेत मन्त्रालयको तयारी सुनाए ।

फरक प्रसँगमा उनले संविधान संशोधन प्रस्ताव पारित हुने समेत ठोकुवा गरे । उनले भने,‘संशोधन प्रस्ताव सदनमा छलफलमा छ, प्रस्ताव पारित गराउन गम्भिर छ, हाम्रो पार्टी नेपाली कांग्रेस गम्भिर छ, प्रस्ताव पास हुन्छ।’ मन्त्री यादवले उक्त संशोधन प्रस्ताव भोलि वा पर्सीभित्रै पास हुने समेत विश्वास दिलाए ।

त्यस्तै प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा सरकार जुटेकोले केही दिनभित्रै मिति घोषणा हुने उनको भनाई थियो ।

कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले किसानहरु बाढीबाट मारमा परेकोले उनीहरुको लागि चाँडोभन्दा चाँडो विशेष राहतको प्याकेज ल्याउन सरकारलाई आग्रह गरे ।

उनले भने,‘हाम्रो देश कृषिप्रधान देश हो, तपाईहरुले किसानहरुलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउनुपर्छ, अब नयाँ प्याकेज ल्याउन ढिलाई गर्न हुँदैन्।’



प्रतिक्रिया दिनुहोस्