काठमाडौं, ३ भदौ । पूर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणमा जाँदा देश हितलाई केन्द्रमा राखेर कुरा गर्न सुझाव दिएका छन् ।
प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणबारे रायसुझाव लिन डाकेको बैठकमा पूर्वप्रधानमन्त्रीहरुले यस्तो सुझाव दिएका हुन् । छलफलमा पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले भारत भ्रमणको बेला नदी बाँधबारे स्पष्ट रुपमा कुरा राख्न सुझाएका हुन् ।
त्यस्तै उनले द्धिपक्षीय सम्बन्ध र आपसी हितलाई ध्यानमा राखेर समेत कुरा गर्न देउवालाई सुझाव दिएका छन् ।
त्यस्तै पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले पनि द्धिपक्षीय सम्बन्ध र आपसी हितकै बारेमा र अन्य विषयमा खुलेर कुरा राख्न सुझाए । उनले प्रधानमन्त्री देउवाले अघि सारेका भ्रमणका एजेण्डाका बारेमा कुनै पनि आपत्ति नभएको जनाए ।
अन्तरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले दुई देशवीचको सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिएका थिए ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बन्ध प्रगाढ र सुमधुर बनाउनुपर्नेमा जोड दिए । त्यस्तै उनले नेपाल–भारतवीच भएका विगतका समझदारीहरु कार्यान्वयन गर्नुपर्नेतिर भ्रमण केन्द्रित हुनुपर्ने धारणा राखेका थिए ।