काठमाडौं, २१ भदौ । प्रदेश नं २ नम्बरमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता उल्लासमय रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
उम्मेद्धवारी दर्तासँगै प्रमुख दलका शीर्ष नेताहरु धमाधम मधेश झरेका छन् ।
प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राजपा, नेपाल लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेताहरु मधेश झर्न थालेका छन् ।
२ नम्बर प्रदेश अहिले प्रमुख दलका लागि प्रतिष्ठाको विषय बनेको छ। प्रमुख दलका शीर्ष नेताहरुले आ–आफ्नो पार्टीले नै बहुमत ल्याउने दाबी गर्दै आएका छन् ।
२ नम्बर प्रदेश अन्तर्गत पर्ने ८ जिल्लाका १३६ वटै स्थानीय तहमा विभिन्न पदका लागि उम्मेदवारी दर्ता भएकोे छ। बिहान १० बजेदेखि आठ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरूमा उम्मेदवारी मनोनयन दर्ता गराउन फाराम लिने तथा दर्ता गर्नेहरूको भीड लागेको थियो ।
जनताहरु यतिवेला मतदानको लागि व्यग्र प्रतिक्षामा छन् । उनीहरु २० वर्षपछि हुन लागेको यो निर्वाचनमा सहभागी भएर आफ्नो मत आफूले मनले खाएको उम्मेद्धवारलाई दिन आँतुर छन् ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा आउने असोज २ गते निर्वाचन हुँदैछ।
यी स्थानीय तहका ६ हजार ६२७ पदका लागि आज उम्मेदवारी दर्ता भएको हो ।