काठमाडौं, २ असोज । राष्ट्रपति विद्या भण्डारीले काठमाडौंको मध्ये बानेश्वरथित पुरानो स्कुल रत्यराज्य माविको नवनिर्मित भवनकोे उद्घाटन गरेकी छन् ।
२०७२ सालको शक्तिशाली भूकम्पले विद्यालयको भवन भत्किएपछि पुनःनिर्माण गरिएको हो । नवनिर्मित भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले ‘सम्पन्न नेपाल र सुःखी नेपाली’ बनाउने सपना साकार पार्न आफू संघर्षरत रहेको बताइन् । मुलुकलाई समृद्ध बनाउने गरी दक्ष जनशक्ति निर्माणमा जोड दिन पनि उनले सरकारको ध्यानाकर्षण गराइन् ।
उनले विद्यालय शिक्षामार्फत् राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाभिमानले ओतप्रोत चरित्रवान नागरिक निर्माण गर्नुपर्ने राष्ट्रिय कार्यभार पूरा गर्ने दायित्व सरकारको भएको पनि स्पष्ट पारिन् ।
सोमबार भवनको उद्घाटन गर्दै भवन निर्माणमा महत्वपूर्ण सहयोग गर्ने ब्यक्तिहरुलाई राष्ट्रपति भण्डारीले सम्मान गरेकी थिईन् ।
नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि अन्य ब्यक्तिलाई सम्मान गरिएको थियो ।
राष्ट्रपति भण्डारीले पोषण शिक्षालाई विद्यालय तहमै विशेष प्राथमिकता दिनसके भविष्यमा सबै नागरिकलाई स्वस्थ बनाउन सकिने धारणा पनि राखिन् ।
तस्विर : मुकुन्द कालिकोटे