Logo

वीरगन्ज महानगरपालिकाको मतगणना फेरि अवरुद्ध



वीरगन्ज, असोज ९ । प्रदेश नम्बर–२ को एकमात्र महानगरपालिका वीरगन्जको मतगणना फेरि अवरुद्ध भएको छ । मतगणनामा बसेका राजनीतिक दलका प्रतिनिधिबीच आइतबार विवाद भएपछि स्थगित भएको मतगणना सोमबार बिहानदेखि सुचारु भएकोमा अपराह्नदेखि पुनः अवरुद्ध भएको हो ।

१६, १७ र १८ नम्बर वडाको मत गन्न बाँकी रहँदा गणना अवरुद्ध भएको हो । अवरुद्ध हुनुको कारण भने खुलाइएको छैन ।सोमबार साँझदेखि संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताले मतगणना पुनः सुचारु गर्न माग गर्दै नाराबाजी गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले भने उपयुक्त वातावरण नभएसम्म पुनः मतगणना गर्न नसक्ने जनाएको छ । कार्यालयले दलहरुलाई मतगणना गर्नसक्ने वातावरण बनाउनसमेत आग्रह गरेको छ ।

वीरगन्ज महानगरपालिकामा संघीय समाजवादी फोरमले नेपाली कांग्रेसँगको मतान्तर बढाउँदै लगेको छ । अहिलेसम्म संघीय समाजवादी फोरमका मेयर पदका उम्मेदवार विजय सरावगीले १४३१२ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार अजय द्विवेदीले १३३६३ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उम्मेदवार राजेशमान सिंहले ८३३६ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्