विराटनगर, १५ असोज : नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न हुनु सरकारको ठूलो उपलब्धि भएको बताउनुभएको छ ।
विराटनगरस्थित गिरिजाप्रसाद कोइराला प्रतिष्ठानमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सो निर्वाचन सम्पन्न भएपछि मुलुकमा अस्थिरता लगभग समाप्त भएको र संविधानप्रति जनताको आशा पलाएको स्पष्ट पार्नुभयो ।
शान्ति र विकास नै जनताको चाहना रहेको उल्लेख गर्दै नेत्री कोइरालाले आगामी दिनमा हुन गइरहेको संघीय र प्रदेशको निर्वाचन पनि भयरहित वातावरणमा निष्पक्ष ढंगमा सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो ।
नेपालीको आधार नै तराई–मधेश रहेको र स्थानीय निर्वाचनमा उम्मेदवारको छनोटमा पक्षपात भएकै कारणले पार्टीले चाहेअनुरुपको जित हासिल गर्न नसकेको स्मरण गर्दै अब हुने निर्वाचनमा गुटबाट माथि उठेर कार्यकर्ताको माझबाट छनोट भएका व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“पार्टीभित्रको विवादलाई गिरिजाबाबुले कार्यकर्ताको माझमा पुगेर समाधान गर्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले त्यस्तो अवस्था नदेखिएको र कतिपय जिल्लामा विवाद देखिएकाले पार्टी सभापतिले कार्यकर्ताको माझमा पुगेर समाधान गर्नु नै उचित देखिन्छ ।”
स्थानीय तहको निर्वाचनमा कतिपय ठाउँमा मतदातालाई र उम्मेदवार चयनमा पनि पैसा वितरण गरिएको चर्चा सुनिएको उल्लेख गर्दै उहाँले यस विषयमा निर्वाचन आयोगलाई गम्भीर भएर ठोस कदम उठाउन आग्रह पनि गर्नुभयो । (रासस)