काठमाडौं १६ असोज । विराटनगर विमानस्थलको सुरक्षा चेक-जाँच गर्ने एक्स-रे मेसिन बिग्रिएकोले नबन्दासम्म यात्रुलाई समस्या हुने भएको छ। विराटनगर विमानस्थलको सुरक्षा चेक-जाँच गर्ने एक्स-रे मेसिन बिग्रिएर बन्द भएको दुई महिना बिते पनि सुचारु नहुँदा सर्वसाधारण मारमा परेका हुन्। गत साउनको अन्तिम साता आएको बाढीले बगाएर ल्याएको लेदो विमानस्थलका दुईवटै एक्स-रे मेसिनमा पसेर बिग्रिएपछि अहिलेसम्म सञ्चालन हुन नसक्दा सर्वसाधारण यात्रु मारमा परेका हुन्।
यात्रुले ल्याएका सामान चेक-जाँच गर्ने होल्ड ब्यागेज एक्स-रे मेसिन र यात्रुले आफूसँग बोकी ल्याएको ब्याग चेक-जाँच गर्ने हेन्ड ब्यागेज एक्स-रे मेसिन बिग्रिएको छ। मेसिन बिग्रिएपछि यात्रुले चेक-जाँच गराउन घन्टौंसम्म लाइन बस्नुपर्दा सास्ती बढेको यात्रु डा. निर्मल बरालको गुनासो छ। एक्स-रे मेसिन चालु अवस्थामा हुँदा पाँच मिनेटमै चेकजाँच सकिने भए पनि अहिले विमानस्थलका सुरक्षाकर्मीले सबै ब्याग, सुटकेस र झोलाका सबै सामान एक÷एक गरी चेक गर्नुपर्ने भएकाले तथा शरीरसमेत छामेर चेक गर्नु परेकाले यात्रुलाई धेरै समय कुर्नुपर्ने बाध्यता छ।