Logo

राजदुतहरुको गुनासो, ‘मन्त्रालयमा पठाएको इमेलको जवाफ आउँदैन’



काठमाडौं १७ असोज ।
खाडी तथा अफ्रिका क्षेत्रमा कार्यरत नेपाली राजदूतहरुले सरकारी समन्वयको अभाव र बजेट पर्याप्त नहुँदा दूतावासको कार्यसम्पादन प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण जनाएका छन् ।

परराष्ट्र मन्त्रालयको आयोजनामा ओमनमा आयोजित राजदूतहरुको सम्मेलनमा उनीहरुले यस्तो बिषयमा सामूहिक आवाज उठाएका हुन् । सम्मेलनमा प्रधानमन्त्री देउवा, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर, परराष्ट्र सचिव शंकरदास बैरागीसहित उच्च अधिकारीहरुको उपस्थिति थियो ।

राजदूतहरुले आफूहरुले चिठी इमेल पठाउँदा परराष्ट्रबाट समयमा प्रतिक्रिया समेत नदिएकोप्रति आकोश ब्यक्त गरेका थिए । उनीहरुले पटक पटक ब्यक्तिपिच्छे फोन गर्नुपर्ने कारण हैरानी खेप्नुपर्ने बाध्यता रहेको वताए । उनीहरुले परराष्ट्र, श्रम र गृह मन्त्रालयबीच आपसी समन्वय नहुँदा वैदेशिक रोजगारीमा गएका कामदारहरु निकै मारमा पर्न थालेको भन्दै यस्तो समस्या समाधानको लागि पहल गर्न माग गरेका थिए ।

ओमनका लागि नेपाली राजदूत शर्मीला पराजुली ढकालका अनुसार सम्मेलनले नेपाली कामदारका गन्तव्य देशसँग श्रम सम्झौता अपरिहार्य रहेकोले यथासक्य श्रम सम्झौता गर्नुपर्ने, दूतावासको उपस्थिति नभएको ठाउँमा अवैतनिक दूत नियुक्त गर्नुपर्ने, वैदेशिक रोजगारको क्षेत्रलाई ब्यवस्थित, सुरक्षित र मर्यादित बनाउनको लागि कामदारको आपूर्ति प्रक्रियामा हुने अवैध लेनदेनलाई निरुसाहित गर्नुपर्ने, दूतावासको उत्तरदायित्व पूरा गराउन आवश्यक जनशक्ति र बजेट थप गर्नुपर्नेलगायत बिषयमा जोड दिएका थिए ।

साउदीका लागि नेपाली राजदूत डा. महेन्द्रबहादुर सिंहले बजेट अभावले कार्यसम्पादनमा ठूलो असर पुगेको बताए । ‘हाम्रो क्षेत्र निकै ठूलो छ । खाडीमा सबैभन्दा जटिल र समस्या बढ्ता भोग्ने ठाउँ पनि साउदी नै हो । टाढाटाढा समस्यामा परेका नेपालीलाई उद्दार गर्न, पैरवी गर्न कर्मचारीलाई पठाउनुपर्छ । बजेट अभावले त्यस्ता कामहरु प्रभावित बनेका छन्,’ उनले भने, ‘साउदीस्थित नेपाली दूतावासले सरकार समक्ष पेश गरेका बिषयमा सम्बोधन होस् भन्ने अनुरोध गर्दछु ।

कुवेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमालले श्रम सम्झौता भएमात्रै कामदारको हितको लागि लड्ने कानुनी अधिकार हुने भएकोले सरकारको पहिलो प्राथमिकता श्रम सम्झौता गर्नतिर ध्यान दिनुपर्ने बताए । ‘कुवेत लगायत खाडी क्षेत्रमा घरेलु कामदारको ठूलो माग छ । द्विपक्षीय श्रम सम्भौता भएपछि मात्रै यो बिषयमा अगाडि बढ्नुपर्छ’, उनले भने ।

झन्डै १६ देशको प्रतिनिधित्व गर्ने इजिप्टस्थित नेपाली राजदुत झविन्द्र अर्यालले सिरिया, लेवनानजस्ता मुलुकमा नेपाली महिला कामदारको समस्या बढिरहेको बताए । उनले नेपाली महिलाको बाहुल्यता रहेको जोर्डनजस्ता देशमा एकदमै न्यून तलब रहेकोले तलब बढाउन सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए । कान्तिपुरले लेखेको छ ।



प्रतिक्रिया दिनुहोस्