१७ असोज, काठमाण्डौ । सरकारमा सहकार्य गरिरहेको नेकपा माओवादी केन्द्र एमालेको कित्तामा गएपछि नेपाली कांग्रेसले माओवादीले धोका दिएको निष्कर्ष निकालेको छ ।
सरकारमा सहकार्य गरेको मात्र नभै स्थानीय निकायको चुनावमासमेत सम्भव भएसम्म चुनावी तालमेल कांग्रेससँग गरेको माओवादी एकाएक एमालेसँग नजिक हुन पुगेपछि कांग्रेसले माओवादीले धोका दिएको ठहर गरेको हो ।
एमाले र माओवादीको सहमति घोषणा भइरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकले माओवादीबाट धोखा भएको निष्कर्ष निकालेको हो ।
सरकारमा बसेर विपक्षी पार्टीसँग गठबन्धन गर्ने माओवादी चरित्र अनैतिक भएको निष्कर्ष निकालिएको कांग्रेस नेताहरुले बताएका छन् ।
कांग्रेस बैठकले अब अन्य लोकतान्त्रिक शक्तिहरुसँग चुनावी तालमेल गर्ने भएको छ ।
एमालेसँगको सहमति सार्वजनिक गर्नुअघि माओवादी अध्यक्ष प्रचण्डले मंगलबार दुई पटक प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । माओवादीले एमालेसँगको एकता, चुनावी तालमेल र एउटै कम्युनिष्ट पार्टी निर्माणका लागि केन्द्रित रहेकाले सत्ता गठबन्धनलाई असर नगर्ने बताएको छ ।
बाम एकताको सुरुवात भन्दै एमाले, माओवादी र नयाँ शक्ति ठाउँमा उभिएपछि कांग्रेसले मंगलबार नै आकस्मिक बैठक बोलाएको थियो ।