१९ असोज, काठमाण्डौ । पछिल्लो समय कर्णाली अञ्चलका विभिन्न जिल्लाहरुमा खाद्यान्न अभाव चुलिएपछि त्यस क्षेत्रका केही युवाहरु सहयोग जुटाउने अभियानमा लागेका छन् । राज्यले त्यस क्षेत्रमा खाद्यान्नको उचित व्यवस्था गर्न नसक्दा यो वर्ष अभाव चुलिएको हो । राज्यले वेवास्ता गरेकोप्रति असन्तुष्ट भएर मात्र समस्या समाधान नहुने भन्दै कैलालीका युवा केपी खनालले हुम्लाबासीको भोक मेटाउने अभियान सुरु गरेका छन् ।
सामाजिक सेवा रुचि भएका १७ वर्षीय खनाल यतिबेला खाद्यान्न अभाव टार्नका लागि खाद्यान्न, आर्थिक र श्रम सहयोगका खोजीमा जुटेका छन् ।
सामथ्र्य नेपाल संस्थाको स्थापना गरेर खनालले सहयोगका लागि अपिल समेत गरेका छन् । हुम्ला र जुम्लाका नागरिकले खान नपाएको उल्लेख गर्दै आशुँ बोकेर बोकिरहेको कर्णालीका लागि सहयोग गर्न सबैमा अपिल गरिएको छ ।
“तपाईहरुको सानो सहयोगले भोकाको पेटमा अनाज पुग्ने छ । नाङ्गाको शरीर ढाकिने छ ।” अपिलमा भनिएको छ ।
राहतका लागि आर्थिक सहयोग गरेर मलम पट्टी लगाउने अभियानमा सहयोग गर्न सबैमा अनुरोध गरिएको छ ।
पाँच सयले पाँच दिन खान पुगोस भन्दै कम्तिमा पाँच सय रुपैया सहयोग गर्न अनुरोध गरिएको अभियान्ता खनालले बताए ।
यसअघि खनालको सक्रियतामा दशैँ अघि कैलालीमा पनि राहत वितरण गरिएको थियो । करिब १ लाख ५० हजार रुपैया बराबरको राहत सामग्री वितरण गरिएको हो । खनालले समाजिक संजालमार्फत सहयोगको अपिल गरेर राहतस्वरुप रकम जम्मा गरिएको थियो ।
जिल्लाको टिकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका, लम्किचुहा नगरपालिका र महोन्याल गाउँपालिकाका करिब ३५ घर परिवारलाई राहत सामग्री वितरण गरिएको खनालले जानकारी दिए । त्यस्तै १५ जना अनाथ बालबालिकालाई स्टेशनरी सामग्रीसमेत वितरण गरिएको थियो
पछिल्लो समय जुम्ला जिल्लामा खाद्यान्न अभाव भएकाले त्यस क्षेत्रमा पनि खाद्यान्न वितरणको अभियान सुरु गरिएको खनालले जानकारी दिए । कुनै पनि दलमा आवद्ध नभै विशुद्ध समाजसेवाको उद्देश्यले सामाजिक काममा लागिएको खनालको तर्क छ ।
सबै युवालाई गलत राजनीतिक संस्कारबाट मुक्त गराई सृजनशील काममा सहभागि गराउने उद्देश्यले सामथ्र्य नेपालको स्थापना गरिएको खनालले जानकारी दिए । राजनीतिको नाममा सडकका ढुङ्गा हान्ने युवालाई विकास निर्माणका काममा लगाउनुपर्छ । खनालको तर्क छ । देश विकासका लागि सरकार वा अरुको आलोचना गरेर उपलब्धि नहुने भएकाले युवावर्ग आफैँ पनि सामाजिक काममा प्रत्यक्ष सहभागि हुनुपर्नेमा सामथ्र्य नेपालले जोड दिदै आएको छ । चितवनबाट सुरु गरिएको सामथ्र्य नेपालको अभियानले अहिलेसम्म विभिन्न निजी तथा सरकारी संघ संस्थाका व्यक्तिहरुलाईसमेत सामाजिक काममा सहभागि गराइसकेको छ ।