Logo

वाम गठबन्धन : विदेशी चलखेलको भुँवरी



काठमाडौं २१ असोज ।
कमजोर र अपरिपक्व राजनीतिक अवस्थामा विदेशीले खेल्न खोज्नु वा खेल्नु कुनै आश्चर्य होइन । हाम्रो आन्तरिक अवस्था र नेताको शैली हेर्दा त्यो स्वाभाविक पनि हो । हाम्रो भूराजनीति अन्तर्राष्ट्रिय ‘चियो’ लाई निम्त्याउने प्रकृतिको छ भने कूटनीतिक संरचना लथालिंग भइसकेको छ । पुरानो जस्तो बलियो र परिपक्व कूटनीतिक संरचना अहिले छैन । कूटनीतिमा लहड र अल्लारेपन देखिएको वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय ‘चियो’ र ‘चलखेल’ बढ्नु स्वाभाविक हो । मुलुकभित्र शक्ति मुलुकको प्रतिस्पर्धा चलेको कतै छिपेको छैन । कहिले पश्चिमा शक्ति यहाँ हावी हुन्छ भने कहिले छिमेकीहरूबीच नै प्रतिस्पर्धा भइरहन्छ । यहाँको राजनीतिक तरलतामा यतिबेला दुई छिमेकको प्रतिस्पर्धा सतहमा देखिन थालेको छ ।

नेपालमा गोप्य रूपमा भारत, चीन र पश्चिमा मुलुकका नेता तथा निर्देशित व्यक्तिहरूको चर्को आउजाउ र राजनीतिक भेटघाट हुने गरेको छ । उनीहरू कुनै न कुनै अवसर खोजिरहेका हुन्छन् । यो प्रक्रिया लामो समयदेखि जारी छ । अहिलेजस्तो राजनीतिक अवस्थामा यस्तो सक्रियता बढ्नु स्वाभाविक हो । छिमेकीहरू (भारत र चीन) को आन्तरिक प्रगति र विकासले नेपालमा पश्चिमाको उपस्थिति पनि बढदो छ । त्यसलाई निस्तेज पार्न छिमेकीहरू पनि उत्तिकै सक्रिय छन् । दुवै छिमेकी उदाउँदो शक्तिका रूपमा अघि बढेकाले नेपालमा कूटनीतिक चाप बढदै गएको छ ।

‘नेपालमा जस्तो नेता र कर्मचारीसित सहज भेटघाट विश्वका अन्य कुनै मुलुकमा सम्भव छैन,’ एक युरोपेली मुलुकका अधिकारीले कान्तिपुरसँग भनेका थिए, ‘कुनै प्रयोजनबिना पनि सहज भेटघाट गर्न पाइने संस्कार छ । त्यसैले नेपालमा विदेशीको चलखेल हुनेमा दुई मत छैन । नेपालमा आफ्नोभन्दा पनि आयातित बुद्धिले बढी काम गर्छ ।’

नेपालमा राजनीतिक मर्यादा नै नहुने अवस्था केही समयमा आउने आफूले देखेको पनि ती अधिकारीले बताएका थिए । ती वरिष्ठ युरोपेली कूटनीतिज्ञको भनाइ नेपालका हकमा सत्य प्रतीत हुन्छ । सबैको चासो नेपालको राजनीतिमा छ, तर नेपाल किन बनेन भनेर होइन । छिमेकले एकले अर्कालाई पराजित गर्ने र पश्चिमाहरूले ती दुई मुलुकको विकासलाई ‘चियो’ गर्ने सहज स्थान नेपाल हुँदा यहाँ त्यो अवस्था आएको हो । यो विश्व राजनीतिका स्थापित भएका मुलुकले नेपालजस्तो अल्पविकसित मुलुकमा चलखेल गर्नु अस्वाभाविक होइन ।

चीनले अहिले आफ्नो नेसनल कंग्रेस सभाका लागि सीमानाकामा कडाइ गरिरहेको छ र आफ्ना उच्च अधिकारीलाई नेपाल भ्रमणमा समेत पठाएको छैन । यहाँ राजनीतिक हलचल आउने गरी वामपन्थी एकताको सन्देश गएको छ । नेपालमा दैनिक जस्तो चिनियाँ नेता तथा उच्च अधिकारी आइरहेका हुन्थे तर केही समययता त्यो विश्राम लागेको छ । अरुण तेस्रो जलविद्युत् परियोजना उद्घाटन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने निश्चित भइसकेको थियो । त्यो हाललाई टरेको संकेत देखा पर्दैछ ।

शान्त स्वभावको कूटनीतिमा विश्वास गर्ने चीन त्यसमा अडिग नै छ । सायद नेपालमा पनि उनीहरूको छाया देखा परेको हुन सक्ने सरकार निकटका अधिकारी बताउँछन् । वाम गठबन्धनमा सद्भाव रहन सक्छ तर पूरै चिनियाँको सक्रियता रहेको हुन सक्ने पुष्टि गर्ने आधार छैन । चीनले नेपाललाई दक्षिण एसिया प्रवेश गर्ने ढोकाका रूपमा व्याख्या गर्दै आएको अवस्थामा ऊ जागेको हुन सक्ने अडकलबाजी पनि हुन थालेको छ । कतिपयले नेपालको राजनीतिमा भारत र चीनबीच गोप्य प्रतिस्पर्धा चल्ने हो कि भन्ने चिन्ता व्यक्त गर्न थालेका छन् । उनीहरूले दक्षिण अफ्रिकी मुलुकहरू, पाकिस्तान र श्रीलंकाको उदाहरण दिन थालेका छन् । भारत र चीनलाई बंगलादेशले झंै बीचमा नै राखेर नेपाल अघि बढ्न सक्नुपर्ने धारणा विज्ञहरूको छ । त्यसका लागि नेताहरू बढी सक्रिय र संवेदनशील बन्नुपर्ने धारणा उनीहरूको छ ।

चीनको कूटनीतिक पक्ष निकै निष्क्रियझैं देखिने अवस्थामा नेपालको राजनीति सगबगाएको हो । चुनावी तालमेल भनिएको यो परिस्थितिले सत्ता समीकरणसम्मको परिवर्तन नै खोजेको झैं अघि बढेको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसमेत यो सञ्जालमा पसेका छन् । टेक्ने जमिन र समाउने हाँगासमेत नपाउने अवस्थामा सहज अवतरण पाए पनि उनको भारतीयसँगको निकटता र सम्बन्धले अहिलेका समीकरणमा कुन शक्तिले कसरी खेलेको छ भन्ने अन्योल देखा परेको छ । सहमति गराउने नेताहरू नै बाह्य शक्तिबिना यो सहमति असम्भव रहेको तर्क गर्छन् तर कुन शक्तिले कसरी मिलाएको खुलाउँदैनन् । लामो समय टिक्न नसक्ने सम्भावना रहेकै कारण पनि यो विषयमा जस लिने कोही नदेखिएका हुन सक्छन् ।

कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्