Logo

नयाँ शक्ति पार्टीका नेताले भने, “हामी भोट हाल्न मात्रै वाम गठबन्धनमा गएका थिएनौँ”



२८ असोज, काठमाण्डौ । नयाँ शक्ति पार्टीका नेता गंगा श्रेष्ठले वाम गठबन्धनबाट बाहिरिएको नभै चुनावी तालमेलमा सहभागि नभएको बताएका छन् । पार्टी एकताका लागि बनेको समितिमा आफ्नो दल कामय नै रहेको बताउँदै श्रेष्ठले गठबन्धन निर्माणका क्रममा गरिएको ६ बुँदे सहमतिको पालना नभएकाले चुनावी तालमेलमा सहभागि नभएको स्पष्ट पारेका छन् ।

६ बुँदे सहमतिको चौँथो बुँदामा उल्लेख गरिएको सहमति अनुसार सिट बाँडाफाँट नभएको श्रेष्ठको आरोप छ । नयाँ शक्ति लगायत अन्य दललाई दिने भनिएको सिट संख्याका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्वेदनशील नभएको श्रेष्ठको जिकिर छ ।

माग्नेले मागेको जति दिनेले दिनै पर्ने वा दिनेले दिएको जति माग्नेले लिनै पर्छ भन्ने बाध्यता नभएको भन्दै श्रेष्ठले एकले अर्काको अस्तित्व बुझेर सहयात्रा गर्नुपर्ने बताए । “उहाँहरु पूर्ण रुपले जसरी निधेष गरेर आउनुभयो, निषेध गरेर आइसकेपछि हाम्रो हैसियत भोटरको जस्तो मात्रै भयो । हामी भोट हाल्न मात्रै त गएका थिएनौँ ।” श्रेष्ठले भने ।
एकता प्रक्रियाका लागि बनाइएको कार्यदलमासमेत रहेका श्रेष्ठले कार्यदलको बैठकमा पनि राम्रोसँग छलफल नभएको बताए । तीन दलका सदस्य मिलाएर बनाइएको कार्यदलको बैठकमा एमाले र माओवादीका प्रतिनिधीहरु बारम्बार बैठक बस्ने तर नयाँ शक्तिका सदस्यलाई आवश्यक परे बोलाउँछौँ भनेर बैठकमा नै सहभागि नगराएको श्रेष्ठले बताए ।

“उहाँहरुले सायद नयाँ शक्ति पार्टीको आवश्यकता महसुश गर्नुभएन । हामीले मात्रै आवश्यकता महसुस गरेर कहीँ पनि पुगिदैनथ्यो ।” श्रेष्ठको भनाई छ ।
नयाँ शक्ति पार्टी बाहिरिनुमा एमाले र माओवादी दुवै दल दोषी रहेको श्रेष्ठको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्