Logo

सरकारले निर्वाचन आयोगलाई टेरेन, अब जनताले कदम चाल्नुपर्छ : निर्वाचन आयोग



२८ असोज, काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सरकार विस्तार गर्नु आचारसंहिता विपरित भएको स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै आयुक्त यादवले मन्त्रीमण्डल विस्तार गर्नु आपत्तिजनक भएको बताए ।

आचारसंहिता पालना गर्छु भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले हिजै निर्वाचन आयोगमा नै पुगेर प्रतिवद्धतासहित हस्ताक्षर गरेका थिए । तर हस्ताक्षर लगत्तै मन्त्रीपरिषद विस्तार गरेर आचारसंहिता उल्लङ्घन गरेको आयुक्त यादवको आरोप छ ।

नैतिकता सबैभन्दा ठूलो कुरा हो भन्दै यादवले कानुनको पालना सबैले गर्नुपर्नेमा जोड दिए । आचारसंहितामा मन्त्रीपरिषद विस्तार गर्न नपाइने भनेर स्पष्ट लेखिएको यादवले बताए । सरकारले आचारसंहिताको मर्म अनुसार काम नगरेको आरोप यादवको छ । अहिले मन्त्रीपरिषद विस्तार गर्नुपर्ने कुनै आवश्यकता नभएको उनको भनाई छ ।

मन्त्रीमण्डल विस्तार गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग कुनै छलफल र परामर्श नगरेको प्रमुख आयुक्त यादवले स्पष्ट पारेका छन् ।
यसअघि राप्रपा प्रजातान्त्रिकबाट मन्त्री थप्दा पनि आयोगले अनुमति नदिएको उनले स्पष्ट पारेका छन् । आचारसंहिता पालना गराउनेसम्बन्धमा निर्वाचन आयोगले आग्रह मात्रै गर्न सक्ने भन्दै अब जनताले नै कदम चाल्नुपर्ने यादवको भनाई छ । संवैधानिक निकायको आदेशलाई पालना नगरेसम्म सुव्यवस्था कायम हुन नसक्ने तर्क यादवको छ ।



प्रतिक्रिया दिनुहोस्