Logo

प्रजातन्त्र जोगाउन लोकतान्त्रिक गठबन्धन : अध्यक्ष राणा



भक्तपुर, ३० असोज : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणाले प्रजातन्त्र जोगाउनका लागि लोकतान्त्रिक गठबन्धन निर्माण भएको बताउनुभएको छ ।

राप्रपा (प्रजातान्त्रिक) भक्तपुरले आज यहाँ आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले वाम एकतासँगै लोकतान्त्रिक गठबन्धनको निर्माण आवश्यक भएको बताउनुभयो ।

“मुलुक दुई कित्तामा विभाजित भएको छ, एकातिर प्रजातन्त्रवादी र अर्कोतर्फ साम्यवादी,” अध्यक्ष राणाले भन्नुभयो, “देशमा प्रजातन्त्र र लोकतन्त्र जोगाइराख्न पनि लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउनु आवश्यक छ ।”

उहाँले यो लडाइँ एउटा पार्टीको मात्र नभएर सबै प्रजातान्त्रिक पक्षको भएको चर्चा गर्दै प्रजातन्त्र जोगाउन नसके देशले प्राप्त गरेको उपलब्धि जोगाउन पनि नसकिने बताउनुभयो ।

अध्यक्ष राणाले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनले नेपालको भविष्य निर्धारण गर्ने बताउँदै यो चुनाव अत्यन्तै महत्वको चुनाव भएको स्पष्ट पार्नुभयो ।

प्रजातन्त्र र उदारवाद नभई मुलुक अगाडि नबढ्ने उल्लेख गर्दै उहाँले आफ्नो पार्टी लोकतान्त्रिक गठबन्धनबाट चुनाव लड्ने निर्णयमा पुगेको धारणा व्यक्त गर्नुभयो ।

उद्योग राज्यमन्त्री रेशमबहादुर लामा र विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज विष्टले निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने बताउँदै चुनावप्रति आशंका नगर्न आग्रह गर्नुभयो ।

सो अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष केशरबहादुर विष्ट, केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाह, रामहरि थापा लगायतले आगामी निर्वाचनलाई लोकतन्त्र बलियो बनाउने अभियानका रुपमा लिएर यसमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्