Logo

उपेन्द्र र महन्थले ऋषि धमलालाई मधेशबाट चुनाव उठाउने भएपछि कांग्रेस दबाबमा



काठमाडौं, २ कार्तिक । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् चर्चित पत्रकार ऋषि धमलालाई तराई–मधेशबाट साझा उम्मेद्धवारको रुपमा चुनाव उठाउन राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाल तयार भएका छन् ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले त यसअघि नै पत्रकार धमलालाई आफ्नो पार्टीमा स्वागत गर्न तयार रहेको खुलासा गरेका थिए । उनले आफ्नो पार्टीबाट चुनाव लडे टिकट समेत दिने एक कार्यक्रममा प्रतिबद्धता जनाएका थिए । उपेन्द्रले यसरी सार्वजनिक प्रतिबद्धता जनाएपछि मधेशका अन्य दलहरुले पनि धमलालाई आफ्नो पार्टीबाट उम्मेद्धवार बनिदिनको लागि आग्रह गरेका छन् ।

आजमात्रै राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुुरले क्लबको देउसी–भैलो कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार धमलालाई राजपा–फोरम नेपालको गठबन्धनबाट चुनाव लड्न आग्रह गरे । उनले भने,‘धमलाजीलाई मधेशबाटै चुनाव लडाउने हो, उहाँ पनि लड्ने चर्चा हामीले सुनेका छौं, अब साझा उम्मेद्धवारको रुपमा उहाँलाई उठाउनेबारे कुरा भैरहेको छ।’

राजपा र फोरम नेपालले संयुक्त रुपमा धमलालाई उठाउने तयारी गरेपछि कांग्रेसले पनि धमलालाई सघाउने बुझिएको छ । राजपा–फोरमसँग चुनावी तालमेल गर्ने तयारी गरेको कांग्रेसलाई पनि धमलालाई सघाउनुपर्ने बाध्यता रहेको कांग्रेस एक नेताले जनाए । स्रोतका अनुसार धमला रौतहटको क्षेत्र नम्बर ४ बाट फोरम–राजपाबाट चुनाव लड्ने तयारीमा छन् ।



प्रतिक्रिया दिनुहोस्