काठमाडौं ३ कात्तिक ।
धेरैले क्यान्सरलाई मृत्युसँग जोडेर हेर्छन् । क्यान्सर शब्दबाटै त्रसित हुनेहरू पनि छन् तर चिकित्सकहरू भन्छन्, ‘यो सुन्दा जति भयानक लाग्छ, त्यति डराउनु पर्दैन ।’ स्तन क्यान्सर रोग विशेषज्ञ डा. कपेन्द्रशेखर अमात्यका अनुसार समयमै उपचार नगरे क्यान्सर मृत्युको कारण बन्न पुगेको हो, पहिलो चरणमै उपचार गरे बिरामी पूर्ण रूपमा ठीक हुन्छन् ।
नेपालका अधिकांश क्यान्सर रोगी नेपालको उपचारमा विश्वास नगरेकै कारण बढी भौतारिने गरेको डा. अमात्यले बताए । ‘अहिले यसको सम्पूर्ण उपचार नेपालमै सम्भव छ, बिरामीको भने भारततिर मात्रै आकर्षण छ, कति उताको उपचारबाट सन्तृष्ट नभएपछि मात्रै नेपालमा उपचार गर्न आउँछन्,’ डा. अमात्यले भने, ‘यसबारे व्यापक प्रचारप्रसार आवश्यक छ ।’
काठमाडौं नारायणस्थानकी मीना तुलाधर स्तन क्यान्सरकी बिरामी हुन् । आठ वर्षअघि उनलाई स्तन क्यान्सर भएको थियो । ‘नुहाउँदा छातीमा केराउको गेडोजस्तो गिर्खा भेट्टाएँ, क्यान्सरको शंका लाग्यो, उतिखेरै मैले मृत्यु नजिकिएको महसुस गरेँ,’ तुलाधरले सुनाइन् । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मेमोग्राम गरेपछि उनको शंका विश्वासमा बदलियो– स्तन क्यान्सरै भएको रहेछ । रोगबारे थाहा हुनासाथ उनले उपचारका लागि भारतको दिल्ली जाने तयारी गरिन् । ‘एक त क्यान्सरको उपचार हुन्छ भन्ने मलाई थाहै थिएन, अर्को नेपालमा सम्भव होला भन्ने त मैले सुनेको पनि थिइनँ,’ उनले भनिन् । भारतको दिल्लीमा गएर उनले स्तनको शल्यक्रिया गरिन् । उपचारमा मात्र ३० लाख खर्च भयो । ‘नेपालमै उपचार हुन्छ भन्ने थाहा नहुँदा आर्थिक भार त पर्यो नै, दिल्लीमा अत्यास लाग्ने गरी भौतारिनु पनि पर्यो, विदेश भन्दैमा सजिलो चाहिं नहुँदोरहेछ,’ उनले सुनाइन् ।
नेपालमा भने सरकारले क्यान्सर रोगीको उपचारमा एक लाख आर्थिक अनुदान दिने गरेको छ । महँगै अस्पतालमा उपचार/शल्यक्रिया गरे पनि पाँच लाखमा उपचार हुने चिकित्सकहरू बताउँछन् । क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ भन्छन्, ‘बिरामीले नेपालमै उपचार गर्ने वातावरण सिर्जना गर्ने एउटै उपाय छ । देशकै उपचारले सन्चो भएका बिरामीले अर्को बिरामीलाई अभिप्रेरित गर्ने र सरकारले यस्तै अभियान चलाउन आवश्यक छ ।’ हाम्रो देशमा भने क्यान्सर रोगीहरू खुलेर अरूलाई आफ्ना कुरा नभन्ने प्रवृत्ति छ । सामाजिक अपहेलनाको सिकार हुने डरका कारण आफ्नो रोगबारे अरूलाई नभन्ने गरेको बिरामीहरू सुनाउँछन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हरेक वर्ष प्रत्येक १ लाखमध्ये ८ महिलामा स्तन क्यान्सर देखा पर्छ जसमध्ये ६ जनाको मृत्यु हुने संगठनको तथ्यांक छ । नेपालको सरकारी तथ्यांकअनुसार हरेक २२ महिलामध्ये एक जना स्तन क्यान्सरबाट पीडित छन् । विकसित मुलुकहरूमा ५० उमेर कटेका महिलामा स्तन क्यान्सर देखिन्छ । तर, नेपाललगायत विकासोन्मुख मुलुकका महिलामा भने ४० वर्षकै उमेरमा यो रोग लाग्ने गरेको डा. श्रेष्ठ बताउँछन् । ‘यो उमेरका महिलाहरूले परिवार, समाज र देशका लागि योगदान दिने उमेर हो, यस्तो उमेरमा उनीहरू रोगी भएर ओछ्यान समातिरहेका छन्,’ उनले भने ।
स्तन क्यान्सर के कारणले हुन्छ भन्ने यकिन तथ्य अहिलेसम्म पत्ता लागेको छैन । तर, पाँच प्रतिशत महिलालाई भने वंशाणुगत कारण देखा परेको डा. अमात्य बताउँछन् । ‘यो रोग ठूलो होइन, रोगबारे मानिसहरूको धारणा नै गलत छ, ‘उनले भने, ‘स्तन महिलाको सौन्दर्यसँग पनि जोडिएकाले उनीहरू शल्यक्रिया गर्न डराउँछन्, कति काटेर फाल्न मान्दैनन् ।’ स्तन क्यान्सर निवारणका लागि नयाँ प्रविधि भित्रिएलगत्तै अब क्यान्सरबाट पीडित महिलाले स्तन काटेर फाल्नुपर्ने समस्या सुल्झिएको छ । ‘विश्वभर स्तन बचाऊ’ अभियान चलिरहेको छ । शल्यक्रिया गरी स्तन काटेपछि अधिकांश महिलालाई मानसिक रोगले समात्ने गरेको डा. अमात्य बताउँछन् । ‘यसका लागि धेरै पैसा खर्चेर विदेश जानु पनि पर्दैन, नेपालका केही अस्पतालले यो सेवा सुरु गरिसकेका छन्,’ उनले भने । कान्तिपुरबाट