काठमाडौं, ४ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन अब कसैले पनि रोक्न नसक्ने बताएका छन् । उनले भने,‘निर्वाचन अब स्वच्छ, धाँधलीरहित र स्वतन्त्र रुपमा सम्पन्न हुन्छ, मुलुक निर्वाचनमय भैसकेको छ।’
रिपोर्टर्स क्लब नेपालले तिहारजस्तो महान चाडको अवसरमा पनि निर्वाचन अभियान लिएर देउसी–भैलो अभियान सञ्चालन गरेको भन्दै पत्रकार ऋषि धमलालाई धन्यवाद दिए ।
शनिबार क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा ओली निवास बालकोट पुगेको टोलीलाई शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले अघि भने,‘रिपोर्टर्स क्लब र एबीसी ईन्द्रेणी साँस्कृतिक समूह जो तपाईहरु संयुक्त रुपमा सचेतना र खबरदारी अभियानको रुपमा, देउसी मिसाएर कलात्मक र मनोरञ्जनात्मक अभियान चलाउनुभएको छ, म हार्दिक आभारी व्यक्त गर्छु ।’
उनले धमलाई ईंगित गर्दै थपे,‘तपाईहरुलाई स्वागत छ, बालकोटमा स्वागत छ, तपाईहरुमार्फत सबै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा तिहारको शुभकामना छ, अब नेपाल सम्बत् र आउँदै गरेको छठको समेत शुभकामना छ ।’
उनले तिहारको शुभकामना दिँदै आउँदै गरेको निर्वाचनमा भोट खेर नफाल्नेगरि मतदान गर्न आग्रह समेत गरे । उनले भने,‘तपाईहरुको मत बलिदानबाट प्राप्त योगदानलाई संस्थागत गर्न सदुपयोग होस्, मेरो यही शुभकामना छ।’
त्यस्तै उनले निर्वाचन आयोगको कर्तव्य र दायित्वतर्फ क्लब र यसको नेतृत्वले ध्यानाकार्षण गरेको भन्दै त्यसका लागि धन्यवाद समेत दिए । ओलीले अघि भने,‘हुन त तपाईहरुले देउसीमात्रै पनि खेल्न सक्नुहुन्थ्यो, तर तपाईहरुले अभियान चलाउनुभयो, म निकै खुशी छु।’
अध्यक्ष ओलीले यो चाडले मानव जातिलाई उज्यालोतिर, खुशीतिर, सुखीतिर जान मद्दत पुर्याउँने विश्वास व्यक्त गर्दै भने,‘अहिले धेरै केही नभनौं । समय लिने भन्दा पनि धन्यवाद भन्न चाहन्छु ।’
कार्यक्रममा अध्यक्ष ओली पत्रकार ऋषि धमलासँग हात समातेर छमछमी नाँचेका थिए ।