७ कात्तिक, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले उम्मेदवार व्यवस्थापनमा समय अभाव भएकाले बागी उम्मदेवारहरु देखिएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता गजुरेलले पर्याप्त छलफल गर्न नसकिएकाले उम्मेदवारहरुमा केही असहज भएको बताए ।
अब विस्तारै सहज हुँदै जाने र बागी उम्मेदवारी दिएका नेताहरुले नाम फिर्ता लिने विश्वास गजुरेलको छ । तालमेल मात्र नभै पार्टी एकतासम्मको महान काम गर्न लागिएको बताउँदै गजुरेलले माओवादीका नेता कार्यकर्ताले कुरा बुझेर उम्मेदवारी फिर्ता लिने दाबी गरे ।
वाम गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवार धेरै ठाउँमा उठेको जानकारी आफूलाई भएको बताउँदै गजुरेलले परिणाममुखी निर्वाचनमा जानुपर्ने कुरालाई सबै बागी उम्मेदवारले बुझेर उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गरे । “उम्मेदवारी फिर्ता नलिनु भनेको कम्युनिष्टहरुको एकताको बिचमा भाँजो हाल्नु हो ।” गजुरेलले भने ।
पार्टीको निर्देशन अनुसार बागी उम्मेदवारी फिर्ता नलिनेलाई सख्त कारबाही गर्ने चेतावनी गजुरेलले दिएका छन् ।
नेपालमा कम्युनिष्ट शासन ल्याउने प्रयास भइरहेको हो भन्ने ऋषि धमलाको प्रश्नमा गजुरेलले प्रतिप्रश्न गरे, “नेपालमा कम्युनिष्ट शासन ल्याउनु नराम्रो हो त ?” कम्युनिष्ट शासनले गर्दा नै रुस र चिन विकसित भएको उदाहरण दिदै नेता गजुरेलले प्रजातान्त्रिक शासन मात्रै राम्रो हुन नसक्ने तर्क गरे ।
कम्युनिष्टहरुको समाजवादी व्यवस्था ल्याउन संविधानले पनि कुनै अवरोध नगरेको गजुरेलको दाबी छ । यद्यपी उनले एमाले र माओवादी प्रजातान्त्रिक मूल्य अनुसार अगाडि बढिरहेको स्मरण गराए । संविधानभित्र रहेर अधिकारको प्रयोग गर्ने उनको भनाई छ । सुदृढ र स्थिर सरकारको परिकल्पना आफुहरुले गरेको भन्दै अनावश्यक आशंका नगर्न गजुरेलले आग्रह गरेका छन् ।