Logo

सरकार विस्तार र पूर्वराजाले देशको नेतृत्व गर्ने बेला आयो भन्नु सामान्य परिघटना होइन : मन्त्री शाही



८ कात्तिक, काठमाण्डौ । विना विभागिय मन्त्री महेन्द्रबहादुर शाहीले नैतिकताका आधारमा सबै मन्त्रीहरुले राजिनामा दिनुपर्ने बताएका छन् । माओवादी केन्द्रबाट मन्त्रीहरुमाथि मात्रै नैतिकताको प्रश्न उठाइएकोमा आपत्ति जनाउँदै मन्त्री शाहीले प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरुमाथि नैतिकताको प्रश्न उठेको बताए ।

सरकारले मन्त्रीलाई दिने सुविधा माओवादीबाट मन्त्री बनेकालाई मात्र दिएको जस्तो गरी अनावश्यक प्रश्न नगर्न मन्त्री शाहीले आग्रह गरेका छन् । चुनाव हुने वा नहुनेमा जनताले अझै पनि शंका गरिरहेकाले आफुहरु सरकारमा बसिरहन बाध्य भएको मन्त्री शाहीले बताए ।

माओवादीको सासंदहरुले भोट हालेर प्रधानमन्त्री बनेका शेरबहादुर देउवामाथि नै नैतिकताको प्रश्न उठेको शाहीले बताए । “देउवा प्रधानमन्त्रीमा रहिरहन मिल्छ ?” शाहीको प्रश्न छ ।
“जनताको विरुद्धमा जानका लागि केही गम्भीर प्रकृतिका षडयन्त्र भइरहेका छन् ।” शाहीले भने । चुनावको सुनिश्चितता नहुँदासम्म माओवादी सरकारमा बस्ने शाहीले बताएका छन् ।

“पछिल्लो परिस्थितीले फेरी चुनाव नहुने हो कि भन्नेतिर गइरहेको छ । सरकार विस्तार गर्नु र राजाले देशको नेतृत्व गर्ने बेला आयो भनेर खुलेआम अभिव्यक्ति दिनु सामान्य परिघटना होइन ।” मन्त्री शाहीले भने ।

चुनावको मुखमा पूर्वराजा ज्ञानेन्द्रले दिएको अभिव्यक्तिले आफुहरु सशंकित बनेको शाहीको भनाई छ । जुन स्थान दिइएको छ त्यही स्थानमा बस्न मन्त्री शाहीले ज्ञानेन्द्रलाई सुझाब दिएका छन् ।
कात्तिक ५ गतेपछि राजिनामा दिने तयारी आफुहरुले गरे पनि पछिल्लो घटनाक्रमले चुनाव बिथोलिने सम्भावना देखेर राजिनामा नदिइएको शाहीले स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्