काठमाडौं, ९ कात्तिक। नेपाल बार एशोसियशनका अध्यक्ष शेरबहादुर केसीले हिजो सर्वोच्च अदालतले दिएको आदेशलाई निर्वाचन आयोगले कार्यन्वय गर्नुपर्ने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले बिहिबार गरेको साक्षात्कारमा बोल्दै उनले प्रत्यक्ष निर्वाचनमा प्रतिनिधि सभा र केन्द्र सभाको लागि फरक–फरक मतपत्रको माध्यमबाट निर्वाचन गर्नुपर्ने बाध्यात्मक कानुनी व्यबस्थालाई निर्वाचन आयोगले पालना गर्नुपर्ने बताउँदै बार अध्यक्ष केसीले भने,‘म त दुईवटा निर्वाचन फरक समयमा हुनुपर्छ भन्ने मानिस हुँ।’
उनले अघि थपे,‘निर्वाचन आयोगले एकैचोटी गर्ने निर्णय गर्यो, अदालतले फरक फरक मत पत्रमा निर्वाचन गराउनुपर्छ भन्ने आशयले हिजो फैसला सुनाएको छ, निर्वाचन आयोगको हालसम्मको कार्यप्रगती विवरण मागेको छ, निर्वाचन आयोगले अदालतको आदेशलाई मान्नुपर्छ।’
यस्तै अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्चको आदेशले दुईवटा मतपत्र छाप्नुपर्छ भनेर आदेश नदिएको जिकिर गरे ।
रिपोर्टर्स क्लब नेपालले बिहिबार गरेको साक्षात्कारमा बोल्दै भट्टराईले भने, ‘सर्वोच्च अदालतले हिजो गरेको फैसला केवल मानहानी सम्बन्धि हो, आजसम्मको प्रगती विवरण मागेको मात्रै हो, निर्वाचन आयोग भोलिदेखि मतपत्र छाप्ने गृहकार्यमा जुटेको छ, यस्तो अवस्थामा निर्वाचन नहोस भन्नेहरू अदालतको आदेशलाई सिरानीमा हालेर गलत प्रचार गरिहेका छन्, यस्तो गलत प्रचारको निर्वाचन आयोगले डर मान्नुपर्ने कारण छैन्।’
निर्वाचन आयोगले छाप्न लागेको मतपत्र दुई प्रकारको रहने दाबी गर्दै अधिवक्ता भट्टराईले माथि प्रत्यक्ष र तल समानुपातिक गरि एउटैमा दुई वटा काम सम्पन्न हुने दाबी गरे ।
उनले भने,‘आयोगले छाप्न लागेको मतपत्र पनि दुई वटा नै हो, माथि प्रत्यक्ष र तल समानुपातिक हुनेछ, यस्तो अवस्थामा किन गलत प्रचार गरेर जनतालाई अन्योलमा पार्न खोजिदैछ? यस्ता गलत हल्लाको पछि नलाग्न सबैलाई आग्रह गर्दछु।’