-कमलमणि पोख्रेल
कात्तिक १५, काठमाण्डौ । आगामी मंसिर १० र २१ हुने प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि सबैजसो दलहरुले लगभग उम्मेदवारीको टुङ्गो लगाएका छन् । अहिलेसम्म प्राप्त जानकारी अनुसार टिकट वितरण गरिएका उम्मेदवारको अनुहार “भेराइटी” छन् ।
कतिपय अनुहार खरिद गरिएका जस्ता छन् भने कतिपय गुण्डागर्दीमा चर्चित । कतिपय नातावादका आधारमा ल्याइएको प्रष्टै छ । त्यस्तै उद्योगि, व्यवसायीका साथमा मेनपावर व्यवसायीलाई पनि उम्मेदवार बनाइएको छ ।
कास्कीका मेनपावर व्यवसायी तिलक रानाभाटलाई कास्की क्षेत्र नम्बर १ खबाट कांग्रेसले टिकट दिएको छ भने डनको परिचय पाएका गणेश लामालाई काभ्रे क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनाइएको छ ।
लामा विजयकुमार गच्छादार नेतृत्वको पार्टीमा थिए, गच्छादार कांग्रेसमा प्रवेश गरेसँगै लामा पनि कांग्रेस नै भए, अन्ततः उम्मेदवार बनाइयो । लामालाई गच्छादारकै जोडबलमा उम्मेदवार बनाइएको स्पष्ट छ ।
अर्का डन दिपक मनाङ्गेलाई एमालेले मनाङबाट उम्मेदवार बनाएको छ । अलोचना हुने भन्दै टिकट नदिने बताउँदै आएको एमालेले नाटकीय रुपमा मनाङ्गेलाई आधिकारिक उम्मेदवार बनाएको हो ।
एमाले स्थायी कमिटीका सबै नेता सहमत हुँदै मनाङ्गेको ठाउँमा खण्डा लामा गुरुङलाई उम्मेदवार बनाएको थियो । तर पछि लामालाई उम्मेदवारी फिर्ता लिन लगाएर एमालेले मनाङ्गेलाई उम्मेदवार स्विकार गरेको हो ।
मनाङेविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा छ । उनको मुद्दा किनारा लागेको छैन ।
नातावादका आधारमा उम्मेदवार बनाइएको अनुहार खोज्ने हो भने कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा हेरे पुग्छ ।
आरजु राणा कैलाली–५ बाट चुनाव लड्ने भएकी छन् । यद्यपी उनी आफैँ पनि राजनीतिमा सक्रिय हुँदै आएकी नेतृ हुन् ।
नेकपा माओवादीमा पनि नातावादले राम्रै स्थान पाएको छ । अध्यक्ष पुष्पकमल दाहालकी बुहारी बिना मगर उम्मेदवार बनेकी छिन् । प्रचण्ड’ ले अड्डी कसेपछि कञ्चनपुर क्षेत्र नम्बर १ मा प्रचण्ड बुहारी मगर वाम गठबन्धनबाट साझा उम्मेदवार बनेकी हुन् । अरुबेला घरबुहारी बनेर बसेको देखिए पनि मगर टिकट पाउन सफल भइन् ।
प्रचण्डले आफ्ना ज्वाईलाईसमेत उम्मेदवार बनाएका छन् । मोरङ क्षेत्र नम्बर ६ बाट प्रचण्डका ज्वाई जीवन आचार्यलाई उम्मेदवार बनाएको बताइएको छ । आचार्यको उम्मेदवारीले माओवादी कार्यकर्ता नै असन्तुष्ट भएका छन् ।
माओवादीबाट नातावादको फाइदा लिनेमा नेता जनार्दन शर्माका भाइ पनि हुन् ।
शर्माका भाइ अनिल शर्मालाई टिकट दिएपछि पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ ।
केही समयअघिमात्र अखिल क्रान्तिकारीको महाधिवेशनमा अध्यक्ष उठेर रन्जित तामाङसँग पराजित अनिल पूर्व गृहमन्त्री तथा माओवादी नेता शर्माका सहोदर भाइ हुन् ।
गठबन्धनका नाममा माओवादी नेताहरु वर्षमान पुनकी बहिनी पनि उम्मेदवार बन्न सफल भएकी छिन् । प्रदेशतर्फ १ को (क) मा वर्षमान पुनकी बहिनी सुशीला पुनलाई उम्मेदवार बनाइएको हो ।
सबैजसो दलले कतिपय व्यक्तिसँग मोटो रकम लिएर उम्मेदवार बनाएको छ । विशेषगरी उद्योगपतिहरु पार्टीलाई पैसा बुझाएर उम्मेदवारको सूचिमा अटाएका छन् । चर्चित उद्योगपति मोतिलाल दुगडले एमालेलाई ठूलै रकम बुझाएपछि समानुपातिक तर्फ सांसद बन्ने पक्का भएको छ । उनको नाम नेकपा एमालेले सिफारिस गरेको छ । पैसा बुझाएकै भरमा गैर राजनीतिक व्यक्ति दुगड एमालेको समानुपातिक सूचीको एक नम्बरमा परेको बताइएको छ ।