मंगलबारे, १३ कात्तिक : दोस्रो चरणको निर्वाचनअन्तर्गत आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि विभिन्न दलले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा (एमाले)ले झाँकीसहित मनोनयन दर्ता सम्पन्न गरेको छ । एमालेका तर्फबाट क्षेत्र नं १ बाट वरिष्ठ नेता झलनाथ खनाल र क्षेत्र नं २ बाट नेता पूर्वसभामुख सुवास नेम्वाङले मनोनयन दर्ता गराउनुभएको छ ।
क्षेत्र नं १ को (क) मा एमाले प्रदेश कमिटी सदस्य खिनु लङ्वा (लिम्बू) र १ को (ख) मा एमालेका क्षेत्र नं १ का क्षेत्रीय कमिटी अध्यक्ष काजीमान कागतेले उम्मेदवारी दर्ता गराउनुभएको छ । क्षेत्र नं २ को (क) मा एमालेका जिल्ला अध्यक्ष रामबहादुर राना र क्षेत्र नं २ को (ख) मा नेकपा(माओवादी केन्द्र)का जिल्ला इन्चार्ज धीरेन शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
जिल्लामा सवैभन्दा पहिला नयाँ शक्ति पार्टी नेपालले उम्मेदवारी मनोनयन दर्ता गराएको छ । नयाँ शक्तिका तर्फबाट प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नं १ मा मानवीर लेप्चा र २ मा देपकुमार जवेगुले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
त्यस्तै प्रदेशसभाका लागि १ (क)बाट हरिबहादुर गुरुङ र १ (ख) बाट रामप्रसाद सञ्जेलले उम्मेदारी दर्ता गराउनुभएको छ । विवेकशील साझा पार्टीबाट प्रतिनिधिसभा निर्वाचनका लागि निवाचन क्षेत्र नं १ बाट सचेन घलेले उम्मेदवारी दर्ता गराउनुभएको छ । रासस