काठमाडौं १७ कार्तिक ।२०४८ सालदेखि भक्तपुरबाट निर्वाचित हुँदै आएका नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले यस पटक प्रतिनिधिसभामा मनोनयन दर्ता गराएनन् । प्रतिनिधि सभाको प्रत्यक्षमा मात्र होइन, समानुपातिकको बन्दसूचीमा पनि बिजुक्छेको नाम छैन।
भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट २०४८ सालदेखि निर्वाचित हुँदै आएका बिजुक्छेले पार्टीको निर्णय बमोजिम नै मनोनयन दर्ता नगराएका हुन् । नयाँ पुस्तालार्इ अवसर दिन अाफूले निर्वाचनमा नउठ्ने निर्णय गरेको उनले बताए ।
नेमकिपाका नेता प्रेम सुवालका स्वकीय सचिव नरेश खत्रीले पनि पार्टीकाे निर्णयअनुसार नै बिजुक्छेले उम्मेदवारी दर्ता नगराएकाे जानकारी दिए । उनले नयाँ पत्रिकासँग भने, ‘अध्यक्षज्युले पार्टीको निर्णयअनुसार नै उम्मेद्वारी नदिनुभएको हो।’
भक्तपुर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रेम सुवालले उम्मेदवारी दिएका छन् भने प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट नीरज लवजु र २ बाट सुरेन्द्र गोसाइँकाे उम्मेदवारी परेकाे छ ।
भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा अनुराधा थापामगर, प्रदेशसभामा निर्वाचन क्षेत्र नम्बर १ बाट सरोज गोसाइँ र २ बाट प्रेमजंग थापाले उम्मेदवारी दर्ता गराएका छन् ।