Logo

उपेन्द्र यादवका प्रतिद्धन्द्धी ठाकुरको यस्तो छ रामकहानी



जब जयप्रकाशको दिल जल्यो…
बाहिरी चोट लागेमा औषधि–उपचार ग¥यो भने निको हुन्छ तर भित्री चोट हत्तपत्त ठीक हुँदैन । र त भनिन्छ– ‘वन जलेको सबैले देख्छन्, मन जलेको कसैले देख्दैनन् ?’ जसरी वनमा डढेलो लागेको सारा दुनियाँले देख्छन् त्यसरी मनमा डढेलो लागेको देख्ने कोही हुँदैन । थाहा कसैलाई हुँदैन; हुन्छ त केबल डढेलो लाग्ने वा जल्नेलाई ! हो, अहिले उहाँको पनि मन एकपाखो जलेको छ ।

जुन राजनीतिक दल आफ्नो भनेर पूरापूर लगानी, योगदान, बलिदान, त्याग, समर्पण ग¥यो, त्यसैका अगुवा भनाउँदाले आफूलाई किनारा लगाएपछि उहाँको मन विक्षिप्त भएको छ । यद्यपि एउटा नेताका लागि सबैभन्दा ठूलो सम्पत्ति मानिने जनताको आड, भरोसा, ढाडस अनि साथ पाएबाट भने उहाँको घाउमा महमपट्टी लागेको मात्रै होइन, अघि बढ्ने नयाँ उर्जा–साहस थपिएको छ र यात्रासमेत बदलिएको छ ।

क्याम्पस प्रवेश गर्नासाथ विद्यार्थी राजनीतिमा सक्रिय हुनुभएका, जनअधिकारकै लागि आफ्नो सरकारी जागिरको समेत मलामी जानुभएका, समाजसेवी, राजनीतिज्ञ तथा राष्ट्रिय जनता पार्टी, नेपालबाट भर्खरै ‘सांकेतिक विद्रोह’ गरी स्वतन्त्र बन्नुभएका, मंसिर २१ गते हुने आसन्न निर्वाचनमा प्रदेश नं. २ अन्तर्गत सप्तरी जिल्ला क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले भोग्नुपरेको नियति हो यो ।

उसो त जयप्रकाशको जन्म विक्रम सम्वत् २०१३ वैशाख १ गते सप्तरी जिल्ला हालको सुख्खीपुर नगरपालिकामा स्व. घुरन ठाकुर र स्व. बिन्दाको ३ छोरामध्ये कान्छो सन्तानको रूपमा भएको हो । उहाँको बाल्यकाल सामान्य ढंगबाट बित्यो । करिब ५ वर्षको उमेरमा घरबाट ३ किलोमिटर टाढा रहेको श्री जनता माध्यमिक विद्यालयमा भर्ना गरियो । उहाँ त्यहाँ होस्टल बसेर अध्ययन गर्नुभयो । मध्यम वर्गीय उहाँको परिवारको मुख्य पेसा भनेको कृषि थियो । उहाँलाई हेक्का भएसम्म त्यतिबेला १० विगाहा जग्गा थियो ।

सानैदेखि तीक्ष्ण बुद्धि, चनाखो स्वभाव र पढाइमा अब्बल जयप्रकाशले २०३० सालमा जनता माध्यमिक विद्यालयबाटैै एसएलसी पास गर्नुभयो । त्यसपछि उहाँ उच्च शिक्षा अध्ययनका लागि रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरमा भर्ना हुनुभयो । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आबद्ध हुनुभयो, विद्यार्थी राजनीतिमा पनि सक्रिय हुन थाल्नुभयो । उहाँले त्यहींबाट आइ.कम. सम्मको अध्ययन पूरा गर्नुभयो । अब भने उहाँको दैनिकीमा केही परिवर्तन आयो । थप अध्ययन गर्न जयप्रकाश महेन्द्र बहुमुखी क्याम्पस धरान धरान जानुभयो । २०३६ सालमा वि.कम. सम्मको अध्ययन पनि पूरा गर्नुभयो ।

दिनहरू बित्दै थिए; यस्तैमा जयप्रकाशमा सरकारी सेवा गर्ने सोच जाग्यो । वहाँले लोकसेवा आयोगको परीक्षा दिनुभयो । नतिजा आफ्नो पोल्टामा प¥यो । उहाँ जिल्ला भूमिसुधार कार्यालय सिराहको नायब सुब्बा (लेखापाल) हुनुभयो । वि.सं. २०३६ सालको जनमत संग्रहमा भगवानपुर मतदान केन्द्रको मतदान अधिकृत बनेर खटिनुभयो । जनताको पक्षमा मत सिर्जना गर्न उहाँको ठूलो देन रह्यो । विडम्बना, बीचमा परिस्थिति प्रतिकूल बन्यो । परिणामतः तत्कालिन सरकारले राजनीतिक दाग देखाएर उहाँलाई बहुदल पक्षधरको चार्ज लगायो । अनि २०३६ साल कार्तिक २० गते सरकारी ‘पर्चा खडा गरी’ सेवाबाट अवकाश दियो । यसरी उहाँले ११ महिना मात्रै सरकारी जागिर खानुभयो ।

अवकाश पाएपछि भने उहाँलाई राजनीति गर्न बाटो खुल्ला भयो । तर पनि आफ्नै व्यापार–व्यवसायमा लाग्नुभयो । यही दौरानमा आफ्नै लगानीमा युनिक एजुकेशनल एकेडेमी सञ्चालन गर्न थाल्नुभयो, जुन कलेजको रूपमा हालसम्म सञ्चालनमा छ । त्यसको केही समयपछि उहाँले काँग्रेसको क्रियाशील सदस्यता लिएर राजनीतिमा होमिनुभयो । तथापि पदप्रति उहाँमा कुनै मोह जागेन, कुनै निर्वाचनमा भाग लिनुभएन । यसबीचमा देशको राजनीतिले कोल्टे फे¥यो ।

तराई–मधेस आन्दोलित भयो । विभिन्न किसिमका घटना, विपत्ति आइ लागे । अनि २०७० सालको संविधानसभाको दोस्रो निर्वाचन हुनुभन्दा ३ महिनाअघि जयप्रकाश काँग्रेस परित्याग गरी महन्थ ठाकुरले नेतृत्व गर्नुभएको तराई–मधेस लोकतान्त्रिक पार्टीमा फट्किनुभयो । प्रवेशसँगै त्यही पार्टीबाट निर्वाचनमा भाग लिनुभयो तर माओवादी केन्द्रका उमेश यादवसँग झिनो मतान्तरले पराजित हुनुभयो । मतान्तर एकहजारको हाराहारीमा थियो ।

जयप्रकाश स्मरण गर्नुहुन्छ– ‘बरु पूर्व गृहराज्यमन्त्री रामकुमार चौधरी, पूर्वमन्त्री अनीश अन्सारीको मेरोेभन्दा थोरै मत आयो ।’ निरन्तर सांगठनिक काममा अहोरात्र खटिरहनुभएका उहाँ मधेसी दल एकीकरण भएपछि राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय सहमहामन्त्री हुनुभयो । यत्तिकैमा स्थानीय निकाय हुँदै प्रदेश र संघीय संसदको निर्वाचनको संघार आयो ।

तर दुर्भाग्य पार्टीमा जयप्रकाशको त्यागको कुनै मूल्यांकन भएन । विपत्तिका बेला गरिएको काम, पार्टीभित्र चालिएको कदम, सामाजिक सुरक्षामा खर्चिएको समय–रणनीति आदि आधारमा संसदीय निर्वाचनमा उहाँले भाग लिने निश्चित हुँदाहुँदै पनि पार्टीभित्रकै केही अराजनीतिक तत्वहरूको षड्यन्त्र र घुसपैठले गर्दा विगतमा आफ्नो निर्वाचनक्षेत्र सुनसरी बनाउनुभएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी– २ मा ल्याउने षड्यन्त्र भयो । ‘राजपाको खोल ओढेका केही स्वार्थी झुण्डले जनतामाझ मेरो वर्चश्व होला भन्ने इष्र्याले गलहत्याउने, राजनीतिक हत्या गर्ने काम गरे’ जयप्रकाश रुष्टता व्यक्त गर्नुहुन्छ– ‘पार्टीभित्र सल्लाह नै नगरी अचानक उपेन्द्रलाई ल्याउने काम भयो, चुनावी गठबन्धन बनाउँदा स्थानीय निर्वाचनमा जसको बढी मत आयो त्यस ठाउँमा उसैको उम्मेदवार खडा गर्ने सहमति राजपा र फोरमबीच भएको थियो । त्यसको सरासर बेवास्ता गरियो ।’

राजपाबाट टिकट नपाएपछि जनताले ‘यो अपवित्र गठबन्धनलाई हामी मान्दैनौं, तपाई निर्वाचन लड्नुपर्छ’ भनेपछि जयप्रकाशले सप्तरी– २ बाटै स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । हाल सप्तरीलाई ४ वटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. १, २ र ४ मा राजपा र फोरमको गठबन्धन छ । २ नं. क्षेत्रमा दलीय र स्वतन्त्र गरी अहिले १७ जना उम्मेदवार मैदानमा छन् । जिल्लाको विकासका लागि चाहिने उद्योगधन्दा–कलकारखाना छैनन, बेरोजगारीको संख्या बढ्दो छ । भएका जनशक्ति कामकै खोजिमा विदेश भौतारिरहेका छन् ।

गाउँमा राम्रा कलेज छैनन् । गणेशमान सिंहको पालामा शिलान्याश भएको एयरपोर्ट अझै सञ्चालनमा आएको छैन । जिल्लामा रहेको एकमात्रै सगरमाथा अञ्चल अस्पताल आफैंमा बिमारी छ । अस्पताल दक्ष चिकित्सक, आवश्यक औषधि–उपचार, भौतिक स्रोत–साधनको अभावमा अस्तित्वहीन बनेको छ । जटिल रोग उपचारका लागि धरान, विराटनगरसम्म जानुपर्छ’ उहाँको कथन छ ।

जयप्रकाशको विवाह भने २०३६ साल फागुन २९ गते सप्तरी बेलहीकी संगीता झासँग भएको हो । उहाँहरूको हाल ३ छोरी र १ छोरा हुनुहुन्छ– पुनम ३५, डा. नीलम ३३, डा. उज्वल ३१ र डा. सोनम २९ । पुनम विवाहित हुनुहुन्छ । अन्य सदस्य भने चिकित्सकको माध्यमबाट बिमारीको सेवामा तल्लीन रहनुभएको छ ।



प्रतिक्रिया दिनुहोस्