Logo

निधिलाई भेटेर भारतीय राजदूतले गरे स्वास्थ्य लाभको कामना



काठमाडौं, मंसीर ७ : राजधानीको ओम अस्पतालमा उपचार गराइरहनु भएका नेपाली कांग्रेस नेता तथा पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर नेपालका लागि भारतीय राजदूत मनजीब सिंह पुरीले स्वास्थ्यस्थितिबारे जानकारी लिनु भएको छ ।

शुक्रबार दिउँसो अस्पताल पुग्नु भएका राजदूत पुरीले नेता निधिको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको थियो । राजदूत पुरी बिबाह पञ्चमीका अबसरमा जनकपुरमा आयोजित राम–जानकी बिबाह महोत्सवमा सहभागी भएर काठमाडौं फर्कने क्रममा एयरपोर्टबाट सिधै चाबिहलको ओम अस्पताल जानु भएको थियो । स्वास्थ्य अबस्थाबारे जानकारी लिने क्रममा भारतीय राजदूत पुरीले कांग्रेस नेता निधिको निर्बाचन क्षेत्र धनुषा–३ को चुनावको माहोल अबलोकन गरेको बताउनु भएको थियो ।

कांग्रेस नेता निधिलाई पेटरोग विशेषज्ञ डा. राहुल पाठक र छाती रोग विशेषज्ञ डा. सुबोधसागर ढकाल लगायतको टोलीले हेरिरहेको छ । चिकित्सकहरुले उहाँलाई केही दिन आराम गर्नुपर्ने बताएका छन् ।

धनुषा ३ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवार कांग्रेस नेता निधि कात्तिक १६ गतेको मनोनयन दर्तापछि चुनावी अभियानको क्रममा गृहजिल्ला धनुषामा बस्दै आउनु भएको थियो । त्यसक्रममा धुलोधुवाँका कारण केही असहज भएपछि उहाँ गत सोमबार राजधानी आउनु भएको हो ।

FILE PHOTO



प्रतिक्रिया दिनुहोस्