Logo

काँग्रेसले नै हिमाल, पहाड र मधेशको भावनालाई समेट्न सक्छ : मन्त्री यादव



महेन्द्रनगर, धनुषा, ८ (रासस) : धनुषा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले काँग्रेसले नै हिमाल, पहाड र तराई मधेशको भावनालाई समेट्न सक्ने बताउनुभएको छ ।
क्षेत्र नं ४ को क्षिरेश्वरनाथ नगरपालिका–४ को चन्दरपुर र वडा नं ६ को संखुवाबजारमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री यादवले देशमा साम्यवादी अधिनायकवाद लाद्ने सपना देखिरहेका दलले सबैको अधिकार समाप्त पार्ने विचार व्यक्त गर्नुभयो ।

स्थानीय निकायमा प्रत्येक वडामा दुईजना महिलाको प्रतिनिधित्व नेपाली काँग्रेसले नै गराएको बताउँदै उहाँले एमालेले यसको विरोध गरे पनि काँग्रेसको अडानपछि मात्र सम्भव भएको जनाउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य ‘ख’का उम्मेदवार वासलाल महतो, काँग्रेसका नेता यज्ञराज शर्मा, क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियार, क्षेत्रीय अध्यक्ष राजकुमार महतो लगायतका वक्ताले आफ्नो मानसम्मान जोगाउन पनि रूख छापमा मतदान गरी काँग्रेसलाई विजयी बनाउन आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा एमाले परित्याग गरी विचारी सदा, भोला सदा, पिरितिया सदा, रामउदगार सदा, रामकुमारी सदा, खेहरु यादव, कल्याण भुजेल, अनिल सिंहलगायत दर्जनाँै व्यक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्