Logo

विकाससँगै धार्मिक सांस्कृतिक क्षेत्रको विकास गछौँः प्रधानमन्त्री देउवा



हेटौँडा, १४ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गठबन्धनले जितेमा विकासनिर्माणसँगै धार्मिक सांस्कृतिक क्षेत्रको विकासमा उल्लेख्य काम गरेर देखाउने बताउनुभएको छ ।

मकवानपुरको थाहा नगरपालिकामा आज भएको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतान्त्रिक गठबन्धनको जित लोकतन्त्र रक्षाको लागि भएकाले पनि सुनिश्चित गर्न मतदातालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “वाम गठबन्धनबाट लोकतन्त्रको रक्षा नहुने भएकाले पनि तपाईँहरुले लोकतन्त्र रक्षाको लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउनैपर्ने भएको छ ।”

कार्यक्रममा उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार कमल थापाले अन्य दलले वर्षाँदेखि जितेर पनि जनताको सुःखदुःखमा साथ नदिएको भन्दै यस पटक मतदाताले लोकतान्त्रिक गठबन्धनलाई रोज्ने बताउनुभयो ।

उहाँले आफूले अवसर पाउँदा मकवानपुरमा विकासका धेरै काम गरेको भन्दै पुनःसहयोगका लागि आग्रह गर्नुभयो । उहाँले अब लोकतान्त्रिक गठबन्धनबाट जितेर गएका जनप्रतिनिधिसँग मिलेर उल्लेख्य काम प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा काँग्रेसका नेता बालकृष्ण खाँणले मकवानपुरले इन्द्रबहादुर बानियाँलाई जिताए काँग्रेस प्रदेशको मुख्यमन्त्री बनाउन पहल गर्ने बताउँदै मतदातासँग मत माग्नुभयो ।

उद्योगपति विनोद चौधरीले लोकतान्त्रिक गठबन्धनले विकास निर्माणमा मुख्य भूमिका खेल्ने भएकाले आफू सो पार्टीमा प्रवेश गरेको बताउनुभयो ।

काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोकतान्त्रिक गठबन्धनबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिना, प्रदेशसभा क्षेत्र नं २ क का उम्मेदवार यतिराज सापकोटा, ख का उम्मेदवार बानियाँ लगायतले मन्तव्य दिनुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्