Logo

पत्रकारलाई सहजरुपमा समाचार संकलन गर्ने व्यवस्था गर : बाँस्कोटा



भक्तपुर, १६ मंसिर  : प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन तथा मतगणनासम्म पत्रकारलाई सहजरुपमा समाचार संकलन गर्ने व्यवस्था गरिदिन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघले आज भक्तपुरमा आयोजना गरेको ‘प्रेस स्वतन्त्रता र मताधिकार’ अन्तरक्रियामा उहाँले सूचना पाउने अधिकारबाट पत्रकारलाई वञ्चित गर्न नहुने बताउनुभयो ।

“निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयले पत्रकारलाई सही र छिटो सूचना लिने पाउने व्यवस्था गरिदिनुपर्छ,” उहाँले भन्नुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले पत्रकारलाई सहजरुपमा सूचना संकलन गर्न सूचना अधिकृतको व्यवस्था गरिने बताउनुभयो ।

पूर्वसभामुख एवं क्षेत्र नं २ का प्रतिनिधिसभातर्फ काँग्रेस उम्मेदवार दमननाथ ढुंगानाले प्रेस स्वतन्त्रता बलियो भए मात्र देशमा प्रजातन्त्र बलियो हुने बताउनुभयो ।

एमाले नेता एवं क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले नेपालमा पूर्णरुपमा प्रेस स्वतन्त्रता कायम गर्दै यसलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो ।

क्षेत्र नं २ बाट जनमोर्चा नेपालका उम्मेदवार शिवहरि खनाल र संघीय समाजवादी फोरम नेपालका उम्मेदवार कृष्णबहादुर घजुले मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्टले निर्वाचनको समयमा आम सञ्चारमाध्यम र सञ्चारकर्मीले पूर्णरुपमा निर्वाचन आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापामगरले निर्वाचनमा सञ्चारकर्मीलाई छिटो र सहज सूचना पाउने व्यवस्था गरिदिँदा गलत सूचना प्रवाह नहुने बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot