Logo

मतदाताप्रति पूर्ण विश्वस्त छु : रमेश लेखक



कञ्चनपुर, १८ मंसिर : नेपाली कांग्रेसका प्रभावशाली नेता एवं कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश लेखकले आफूले बिगतमा गरेको कामको मूल्यांकन गर्दै मतदाताले नेपाली कांग्रेसलाई जिताउनेमा विश्वस्त रहेको बताएका छन् । मंसिर २१ गते हुने निर्वाचनको प्रचार प्रसारको अन्तिम चुनावी सभालाई सोमबार साँझ भिमदत्त नगरपालिकाको सुकासालमा सम्बोधन गर्दै नेता लेखकले मतदाताले विकाश विरोधीलाई परास्त गरेर विकास पक्षधर जिताउनेमा आफू पूर्ण विश्वस्त भएको बताएका हुन् । २०७० सालको चुनावमा मतदाताले दिएको संविधान बनाउने महत्वपूर्ण जिम्मेवारी सफलताका साथ पुरा गरेको स्मरण गराउँदै नेता लेखकले विकास निर्माणका क्षेत्रमा पनि आफू मन्त्री भएका बेला ऐतिहासिक काम गरेको दाबी गरे ।

आफू मन्त्री भएका बेला कञ्चनपुरकै इतिहासमा सबै भन्दा बढी बजेट विनियोजन भएको बताउँदै महाकाली नदीमा बन्न लागेको चार लेनको पक्की पुल सहित एकै वर्ष अन्य ४२ पुल, सिचाई, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारका क्षेत्रमा आफूले उल्लेखनिय काम गरेकाले त्यसको सही मूल्यांकन मतदाताले गर्ने विश्वास लेखकले व्यक्त गरेका छन् । उनले भने, ‘मैले यस क्षेत्रमा सुरु गरेका विकास निर्माणका कामहरु सम्पन्न गर्न र बेरोजगारी समस्या समाधान गर्नका लागि फेरि कांग्रेसलाई जिताउन आवश्यक छ । ’ कञ्चनपुरलाई त्रिदेशिय नाका ( नेपाल, भारत र चीन ) को रुपमा विकास गरेर आर्थिक समृद्विको ढोका खुल्ने दाबी गर्दै नेता लेखकले अथक प्रयास पछि तिन अर्व रुपैयाको लागतमा बन्न लागेको चारलेनको महाकाली पुल बन्न नदिन बाम गठबन्धनले पुलको डिजाइन परिवर्तन गर्ने कुरा गरिरहेको आरोप लगाए ।

नेपाली कांग्रेसको नेतृत्वमा भएका अधिकांश विकासका काम आफूले गरेको भन्दै बामपन्थीहरु झुटको खेती गरिरहेको बताउदै जनताले सही र गलत छुट्याउने बेला आइसकेको बताए । केपी ओली प्रधानमन्त्री भएका बेला भिमदत्त नगरपालिकाको सडक स्तरोन्नतीका लागि ४ लाख २० हजार बजेट विनियोजन भएको स्मरण गराउदै पचास मिटर सडक समेत स्तरोन्नती हुन नसक्ने बजेट बिनियोजन गर्नेले नै ठूलठूला कुरा गरेर हिडेको नसुहाएको उनले भने ।

कांग्रेस नेतृत्वमा धेरै काम भएको जानकारी गराउदै लेखकले भने, ‘ विकास नभएको होइन्, भएको छ । तर सबै पुर्याउन सकिएको छैन । ’ आफू निर्वाचित भएपछि कञ्चनपुरको एयरपोर्ट सञ्चालनमा ल्याउने प्रतिवद्वता व्यक्त गर्दै महाकाली अञ्चल अस्पतालको स्तरोन्नती, बरोजगारी समस्या समाधान, सुख्खा बन्दरगाह निर्माण पुरा गरि छाड्ने विश्वास दिलाए । कार्यक्रममा कञ्चनपुर क्षेत्र नम्बर ३ (ख) का प्रदेश सभा उम्मेदवार यज्ञराज जोशी र राप्रपाका प्रदेश ७ इन्चार्ज धर्मराज जोशीले अहिलेको लडाई लोकतन्त्रपक्षधर र लोकतन्त्र विरोधी बिचको भएकोले लोकतान्त्रिक शक्तिलाई विजय गराउन मतदातालाई आग्रह गरे ।

नेता लेखकले कांग्रेसका युवा नेता एवं काठमाडौ क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापामाथि बम प्रहार गर्ने काम पराजित मानसिकता भएको बताउदै दोषीलाई कडा कारवाही हुनु पर्ने माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot