Logo

आयोगले हामीसँग मतदाता शिक्षाबारे समन्वय गरेन : अध्यक्ष केसी



काठमाडौं, २० मंसिर । नेपाल बार एशोसियशनका अध्यक्ष शेरबहादुर केसीले लोकतन्त्रको रक्षाका लागि निर्वाचन भएकाले निर्वाचन प्रक्रियामा सहभागी हुन सबैलाई आग्रह गरे ।

निर्वाचनको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको विशेष साक्षात्कारमा उनले निर्वाचनलाई स्वच्छ, भयरहित र स्वतन्त्र रुपमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्थापनमा कडाई गर्न सरकारसँग आग्रह पनि गरे । निर्वाचन सफल रुपमा सम्पन्न भएर नयाँ लोकतान्त्रिक सरकार बनोस् भन्ने उनको कामना थियो ।

उनले थपे,‘नयाँ सरकारले धेरै काम गर्नुपर्छ, संविधानले देखाएको बाटोमा हिँड्नुपर्छ, त्यसैले अब बन्ने सरकार लोकतान्त्रिक होस, यदि निरंकुशतावादी सरकार बन्यो भने हामी सडकमा आउँछौं, नेपाल बार जहिलेपनि वाचडगको रुपमा रहेको छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै केसीले संविधानको सफल कार्यान्वयनमा बार एशोसियसनको पूर्ण साथ र सहयोग रहनेपनि विश्वास दिलाए । उनले थपे,‘यो संविधानमा सबै नेपालीहरुको रगत, पसिना बगेको छ, त्यसैले यसको अक्षरंश पालना हुनुपर्छ।’

निर्वाचनको सम्पूर्ण तयारी आयोगले सम्पन्न गरेपनि मतपत्रमा आयोग चुकेको गुनासो पोखे । उनले भने,‘आयोगले चारवटा बाकस राख्यो, मतपत्र एउटै हुँदा द्धिविध छ, आयोगले यो विषयमा ईगो लियो।’ त्यस्तै उनले मतदाता शिक्षालाई प्रभावकारी बनाउनको लागि आफूहरुले आयोगसँग सहकार्य गर्न आग्रह गर्दापनि वास्ता नगरिएको भन्दै दुःख व्यक्त गरे ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot