Logo

सरकार निर्माणमा उपेन्द्रका चार विकल्प : ओलीलाई प्रधानमन्त्री स्विकार्न तयार छौं



कठमाडौं, १३ पुस । संविधान संशोधनमा एमाले अध्यक्ष केपी शर्मा ओली लचिलो भएकोले आफूहरु ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् ।

पत्रकार ऋषि धमलासँग नेपाली बहसका लागि कुरा गर्दै अध्यक्ष उपेन्द्र यादवले यस्तो खुलासा गरेका हुन् । नयाँ सरकार गठन कसको नेतृत्वमा हुने भन्नेबारे त्यसको लागि उनले चार वटा विकल्प देखेको सुनाएका छन् ।

उनका अनुसार पहिलो कुरा एमाले–माओवादी केन्द्रको वाम गठबन्धनको नेतृत्वमा सरकार बनाउने तर त्यसमा आफूपनि सहभागी हुनसक्ने संकेत गरे । उनले भने,‘दुई तिहाई पुग्ने भएकोले सकेसम्म वाम गठबन्धनकै नेतृत्वमा सरकार बनोस्, भलै त्यसमा हामी पनि सहभागी हुन्छौं।’

त्यस्तै उनले दोस्रो विकल्पमा एमालेबाहेकका दलहरुवीच सरकार बन्ने पनि विकल्प देखेका छन् । उनका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा कांग्रेस, राजपा र फोरमवीच सरकार बन्ने पनि संभावाना देखेका छन् ।

यादवले एमालेसहित राजपा र फोरमको पनि सरकार बन्न सक्ने संभावना उतिकै बलियो रहेको सुनाए । यदि यो पनि हुन सकेन भने चौथो विकल्पमा कांग्रेस र एमालेवीचपनि सरकार बनाउने सहमति हुने वा वातावरण बन्न सक्ने विश्वास दिलाए ।

तपाई सरकारमा जाने तयारीमा हो ? भन्ने प्रश्नमा उनल भने,‘ओलीले सरकारमा जाने कुरा गर्नुभएको छ । निश्चित रुपमा हामी सरकारमा जान्छौँ । तर हामीले उठाएका मुद्दामा उहाँहरु सहमति भएको खण्डमा मात्रै जाने हो । संविधान संशोधन गर्ने, आदीवासी, जनजातीहरुले उठाएका माग पूरा गर्ने र संविधानका त्रुटीहरुलाई सच्याउने वातावरण बन्यो भने हामी सरकारमा जान्छौँ ।

संविधान संशोधनमा एमाले वा वाम गठबन्धन लचिलो भयो भने सरकारमा जाने हो ? अर्को प्रश्नमा यादवले प्रष्ट्याए,”लचिलो होइन । संशोधन गर्ने नै हो भने मात्रै सरकारमा जान्छौँ । गरेर देखाउनुपर्यो नि ।”

 



प्रतिक्रिया दिनुहोस्