चैत १, काठमाण्डौ । पद्मा मिडिया नेटवर्कद्वारा संचालित विजनेश प्लस टेलिभिजनको आयोजनामा काठमाडौंमा सिइओ समिट तथा अवार्ड कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
काठमाडौंको होटल सोल्टीमा आयोजना गरिएको अवार्ड कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तीनवटा विधामा अवार्ड हात पार्नुभयो । घिसिङले सिईओ अफ द एअर, सिईओ अफ द एअर पब्लिक सेक्टर र पपुलर सिइओ अफ दि इयर बिधाको अवार्ड जितेका हुन् ।
त्यसैगरी योङ सिइओबाट इसेवाका अस्गर अली, वुमन सिइओ होटल द्धारिकाजकी अम्बिका श्रेष्ठ, एसएमई सिइओ रामकली खड्का, सिइओ प्राइभेट सेक्टरबाट बुद्ध एयरका वीरेन्द्र बस्नेत र जुरी च्वाइस अवार्डबाट तिलगंगा आँखा अस्पतालका डाक्टर सन्दुक रुइत सम्मानित भए ।
कूल आठ विधामा अवार्ड दिइएको थियो । जुरी समितिले जुरी अवार्ड पनि प्रदान गरेको थियो भने पपुलर सिइओ अफ दि इयर बिधाको भने जनताबाट आएको अनलाईन तथा मोबाइल एसएमएसको नतिजाबाट तय गरिएको थियो ।
काठमाडौंमा विशेष समारोहकाबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र पद्मा मिडिया ग्रुपका अध्यक्ष राजुप्रसाद कँडेलले घिसिङलाई अवार्ड प्रदान गरे ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले अवार्डले थप हौसला मिलेको भन्दै आगामी दिनमा नेपाललाई विद्युतमा आत्मनिर्भर बनाउने गरी काम गर्ने बताए ।
अन्य अवार्ड विजेताहरुलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल लगायतले अवार्ड गरे ।
कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको आर्थिक विकासका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले राजनीतिक उपलब्धि हासिल भएकाले अब आर्थिक विकासमा ध्यान केन्द्रीत गर्नुपर्ने र सबैले एकताबद्ध भएर काम गर्नुपर्ने बताए ।
नेपालमै पहिलो पटक आयोजना गरिएको सम्मेलनमा नेपालको आर्थिक विकास, लक्ष्य र रणनीति बारे छलफल भएको थियो ।