Logo

‘आजाद भिसा’ का नाममा कामदार तस्करी, कतारमा ४० नेपाली अलपत्र



काठमाडौं २ चैत ।  चाहेजस्तो काम र तलब पाइने भन्दै संगठित दलालले ‘आजाद भिसा’ मार्फत कतार पुर्‍याएका ४० नेपाली कामदार बिचल्लीमा परेका छन् । म्यानपावर र कतारका साना कम्पनीसँग समन्वय गरी दलालले आजाद भिसाका नाममा ४० नेपाली कामदारसँग झन्डै ७० लाखभन्दा बढी ठगी गरेका छन् ।

पीडित कामदारका अनुसार मिडल अर्विट ओभरसिज, शुभम् ओभरसिज, ब्लुमुन ओभरसिज म्यानपावरले आजाद भिसाका नाममा कामदार पठाई ठगी गरेका हुन् । अलपत्र परेका कामदार कतारको बक्रा, सनैया र साँहनिया क्षेत्रमा खान पनि नपाउने अवस्थामा छन् ।

ती म्यानपावरले प्रतिकामदार १ लाख ८० हजारदेखि २ लाख ३५ हजार रुपैयाँसम्म ठगी गरेका हुन् । म्यानपावरले कतारस्थित ताज ट्रेडिङ कन्स्ट्रक्टिङ, प्रोजेक्ट सपोर्ट ट्रेड्रिङ, कोमिला कन्स्ट्रक्सन, क्युप्लस ट्रेडिङ र फोल्रा ट्रेडिङ कम्पनीको स्पोन्सरमा पठाएका थिए । कतारस्थित नेपाली दूतावासका अनुसार यी कामदारको भिसा संखुवासभाका आशिष दाहाल र चितवनका कृष्णबहादुर लामालगायतले निकालेका हुन् ।

के हो ‘आजाद भिसा’ ?
कतारी श्रम मन्त्रालयका अनुसार ‘आजाद भिसा’ भन्ने कुनै भिसा नै छैन । कतारमा कामदारका लागि दुई प्रकृतिको व्यक्तिगत (घरेलु कामदार) र संस्थागत (कम्पनी) को मात्रै भिसा हुन्छ । कम्पनीको स्पोन्सरसिपमा निस्कने भिसालाई नै दलालले आफूअनुकूल ‘आजाद भिसा’ को नाम दिने गरेका छन् । दलालले यो भिसामा जानेले स्वतन्त्र भएर इच्छाअनुसार काम गर्न र मनग्य पैसा पाइने भन्दै कामदारलाई प्रलोभन दिई पैसा असुल गर्ने गर्छन् । यस्तो नामका भिसाको कारोबार गर्नेलाई कतार सरकारले मानव तस्करीविरुद्ध अपराधमा मुद्दा चलाउने गरेको छ । पीडित कामदार न्यायका लागि कतारी निकायमा प्रमाणसहित नपुग्दा ती संगठित दलालले फाइदा उठाइरहेका छन् ।

यही भिसामा जाने भन्दै सर्लाहीका चन्द्रबहादुर भण्डारीले मिडल अर्विट म्यानपावरका सञ्चालकलाई २ लाख ३५ हजार रुपैयाँ बुझाएका थिए । यही भिसामा पुगेका तेह्रथुमका सुमन भण्डारीले भने, ‘१७ सय रियालको काम सजिलो काम पाइन्छ भनेर म्यानपावरले पठाएको थियो । दुई महिना भइसक्यो कामै पाएको छैन ।’ कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्