काठमाडौं, २ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली र राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरबीच विशेष कुराकानी भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा उनीहरुबीच सरकार विस्तारबारे छलफल भएको स्रोतको दाबी छ । राजपालाई ओलीले दुई मन्त्रालय दिने निर्णय गरिसकेका छन् ।
आजै सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे निर्णय लिन अध्यक्ष ठाकुरले पार्टीको बैठक बोलाउने तयारी गरेका थिए । तर, पार्टीभित्र सरकारमा सहभागी हुुन मन्त्रीका आकांक्षीहरु धेरै भएपछि बैठक सरेको हो । स्रोतले भन्यो,‘आज बस्ने भनिएको बैठक सर्यो, यसको कारण हो मन्त्री बन्न तीन जना आकाक्षी छन्, तर पार्टीको कोटामा दुई जनामात्रै परेको छ।’
राजपा निकट उच्च स्रोतका अनुसार मन्त्री बन्न नेताहरु राजेन्द्र महतो, शरदसिंह भण्डारी र राजकिशोर यादव दौडमा छन् । अनशनरत रेशम चौधरीको अनशन तोडिएपछिमात्रै राजपा सरकारमा सहभागी हुने संभावना छ ।