काठमाडौं ९ चैत । सिंहदरबारभित्र काम गर्ने अधिकांश कर्मचारीको रक्तचाप उच्च देखिएको छ । सिंहदरबारभित्रको ‘हेल्थ डेस्क’मा जाँच गराउँदा अधिकांश कर्मचारीमा ‘प्राइमरी हाइपरटेन्सन’ अर्थात उच्च रक्तचापको जोखिम देखिएको अहेब दीपक मुडभरीले जानकारी दिए ।
कामको चाप र तनावले समस्या भएको हुन सक्ने उनले बताए । चिकित्सकले उपचारका लागि आउने कर्मचारीको दैनिकी बुझ्दा दिनभर चियाको भरमा बस्ने गरेको सुनाएका थिए । सिंहदरबारभित्र करिब सात हजार कर्मचारी छन् ।उनीहरूमध्ये हालसम्म चार सय १० ले स्वास्थ्य परीक्षण गराएकोमा ७० प्रतिशत अर्थात् दुई सय ८७ मा उच्च रक्तचाप देखिएको मुडभरी बताउँछन् ।
वीर अस्पतालका निर्देशक प्रा.डा. भूपेन्द्र बस्नेतले सिंहदरबारका कर्मचारीको खानपान र जीवनशैली सही नभएका कारण रोगी भएको बताएका छन् ।
२१ दिनमा १६ जना इमर्जेन्सी भर्ना
सिंहदरबारका कर्मचारीमा तनाव, ग्यास्ट्रिक, प्रेसर, आँखा, टाउको दुख्नेजस्ता समस्या बढी देखिएको छ । महिला कर्मचारीमा आँखा र टाउको दुख्ने समस्या बढी छ भने पुरुषमा तनाव, ग्यास्ट्रिक र प्रेसरको समस्या बढी देखिएको मुडभरीले बताए । कतिपय काम गर्दागर्दै ढलेका उदाहरण पनि छन् ।
१६ जनाको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उनीहरूमा उच्च रक्तचाप र ग्यास्ट्रिकको समस्या देखिएको हो । –नयाँ पत्रिका दैनिकबाट