चैत ११, काठमाण्डौ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्झा भुसालले एमालेसँगको पार्टी एकताको मिति नजिकै आएको बताएकी छिन् ।
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि नै पार्टी एकता गर्ने प्रयास भइरहेको उनले बताईन् । उक्त भ्रमणअघि नै पार्टी एकता हुन नसके वैशाख नौ गते गरिने उनले बताईन् ।
कार्यदलले तयार पारेको रिपोर्ट बुझाउने प्रक्रियामा रहेको भन्दै कार्यदलले तयार पारेको रिपोर्टका बारेमा संयोजन समितिले छलफल गरेर अगाडि बढिने भुसालले बताइन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै प्रवक्त भुसालले संयोजन समितिका साथै दुवै दलले पनि आन्तरिक छलफल गरेपछि टुङ्गो लगाइने बताइन् ।
जतिसक्दो चाँडो पार्टी एकता गर्ने पक्षमा माओवादी रहेको भन्दै उनले प्रधानमन्त्री ओलीको भ्रमणअघि एकता गर्नेगरी तयारी गरिने बताइन् ।
तर सबै आवश्यक प्रक्रिया पूरा गर्ने क्रममा ढिलो चाँडो हुन सक्ने उनले बताईन् ।
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण चैत २३ गते हुने बताइएको छ ।
वैचारिक पक्षमा नमिलेका कुरा आन्तरिक रुपमा छलफल गर्दै महाधिवेशनमा लगेर टुङ्ग्याइने उनले बताइन् ।
एकता महाधिवेशनले नेतृत्व पनि सहमतिका आधारमा हुने सैद्धान्तिक सहमति भएको भुसालको दाबी छ ।