Logo

“समृद्धिको लागि देश विशेष र परिपक्व कुटनीति हुनुपर्छ”



शर्मिला पराजुली ढकाल, ओमानका लागि नेपाली राजदुत  :  मुलुकको समृद्धिको लागि हाम्रो कुटनीति अब देश विशेष र परिपक्व हुनुपर्छ । सक्रिय कुटनीतिमार्फत नै हामीले समृद्धिको यात्रा आरम्भ गर्नसक्छौं । देश विशेषको कुटनीतिमा हामीले जोड दिनुपर्छ । विश्वकै उदयीमान अर्थतन्त्र चीन र भारतको बीचमा हुनु नै हामी भाग्यमानी हौं । नेपालसामू धेरै अवसरहरु छन् । आपसी लाभ हाँसिल गर्नेगरि हामीले द्धिपक्षीय सम्बन्धलाई बढावा दिनुपर्छ । भारत र चीन दुवै मित्रराष्ट्र हाम्रो लागि उतिकै महत्वपूर्ण छन् ।

मुलुकले धेरै लामो समय पछि स्थायित्व प्राप्त गरेको छ । संघीय व्यवस्थामा मुलुक गैसकेको छ । निर्वाचन सम्पन्न भएर संविधान कार्यान्वयनको चरण पूरा हुने क्रममा छ । तीन वटै तहमा सरकार गठन भैसकेको छ । अबको युग भनेको समृद्धिको युग हो । व्यापार व्यवसायको युग हो । हामीले पनि हाम्रा कदमहरुलाई अब त्यतातर्फ नै केन्द्रित गर्नुपर्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभएको छ । उहाँको नेतृत्वमा बनेको सरकारले जनतालाई राहत दिने विश्वास प्रत्येक नेपालीले लिएका छन् । उहाँसँग धेरै लामो अनुभव छ। काम गर्न सक्ने ठूलो ईच्छाशक्ति छ । जुन अति नै आवश्यक कुरा हो । उहाँको नेतृत्वमा विशेषज्ञ, क्षमतावान व्यक्तिहरु हुनुहुन्छ । यसको साथै, उत्साहित, जुझारु र कामप्रति समर्पण भाव भएका मन्त्रीहरु क्याविनेटमा हुनुहुन्छ । आशा छ, यो सरकारले जनताको विश्वासलाई पूरा गरेरै छोड्छ ।

प्रधानमन्त्री ओलीसँग त प्रत्येक नागरिक आशावादी छन् । उहाँको सरकारले आगामी दिनमा देश विशेषको कुटनीति र राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर कुटनीतिक क्षमता देखाउन सक्छ भन्नेमा म विश्वस्त छु । सबैले हातमा हात र काँधमा काँध मिलाउनुपर्छ । यसको लागि हाम्रो देशका कर्मचारीहरु सक्षम र योग्य हुनुहुन्छ । समृद्धि हाँसिल गर्नको राष्ट्रिय एकता कायम गर्नुपर्छ । सहमति, सहकार्य र एकता नै समृद्धिको प्रमुख आधार हुन्छ ।

नेपालले अब पूर्वाधार विकास, पर्यटन, जलस्रोत, संस्कृति र प्रविधियुक्त शिक्षाको विकासमा ध्यान दिनुपर्छ । नेपालको विकासमा टेवा पुर्याउनको लागि महत्वपूर्ण मानिने यी कुरामा सरकारले विशेष महत्व दिनुपर्छ ।

राष्ट्रिय स्वार्थको संरक्षण र प्रर्वद्धन गर्नको लागि हामीले राष्ट्रिय सुरक्षामा विशेष प्राथमिकता दिनुपर्छ । त्यस्तै प्रभावशाली कुटनीतिलाई पनि बढावा दिनुपर्छ । स्वदेशी उत्पादनमा जोड दिनुपर्छ । पारदर्शीता अपाउनुपर्छ । पछिल्लो घट्नाक्रमले नेपालले समृद्धि, स्थायित्व र विकासको लागि ठूलो पाईला चाल्दै गरेको देखाउँछ । हामी सबै आशावादी छौं ।



प्रतिक्रिया दिनुहोस्