चैत १४, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले प्रधानमन्त्री केपी ओलीको सक्रियाताले देशमा आमूल परिवर्तन हुने दाबी गरेका छन् ।
समृद्धि र आर्थिक विकासका लागि स्रोत साधनको अभाव नरहेको भन्दै विगतमा राजीतिक स्थायीत्व नहुँदा विगतको सरकाले केही गर्न नसकेको उनको तर्क छ ।
अहिलेको सरकारले बाह्य प्रविधि र सहयोग परिचालन गरेर देशमा भएका सबै सम्भावनाको सदुपयोग गरिने रावलले बताए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रावलले अन्य देशको सहयोग जुटाउनका लागि प्रधानमन्त्री ओलीले कुटनीतिक नियोगसँग सम्बन्ध विस्तार गर्ने बताए ।
सोमबार नेपालस्थित कूटनीतिक नियोगका प्रमुखका साथै विकास साझेदारलाई बालुवाटारमा बोलाएर ओलीले आफ्नो सरकारको अवधारणा सार्वजनिक गरेका थिए ।
विकासको बाटोमा अगाडि बढ्दा बाह्य सहयोग आवश्यक हुने र उक्त सहयोग नेपालाई सहजै प्राप्त हुने उनले बताए ।
सहयोगको नाममा अन्तर्राष्ट्रिय संघ संस्था वा देशले नेपालको आन्तरिक विषयमा हस्तक्षेप गर्न नहुने रावलले बताए ।
“स्वतन्त्र परराष्ट्र नीति, संयुक्तराष्ट्र संघको बडापत्रअनुसार, असंलग्न आन्दोलनको नीतिअनुसार समानता र पारस्परिक हितका आधारमा विदेश नीति अवलम्बन गर्छौँ ।” रावलले भने ।
संविधानअनुसारको परिवर्तन यो सरकाले गर्ने भन्दै उनले प्रधानमन्त्री ओली संविधानअनुसार अगाडि बढ्ने बताए ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे भने आफूले समाचार पढेर मात्रै जानकारी पाएको भन्दै औपचारिक रुपमा भ्रमणबारे केही थाहा नपाएको रावलले बताए ।
पार्टी एकताका विषयमा कुरा गर्दै रावलले माओवादी अध्यक्ष प्रचण्डले सम्मानजनक एकताको कुरा गरेको भन्दै त्यसलाई अन्यथा लिन नहुने बताए ।