Logo

अधिकार नहुँदा काम गर्न नपाएको भन्दै प्रदेश दुईका मन्त्री रायको आक्रोष



चैत १६, काठमाण्डौ । प्रदेश नम्बर दुईका वनमन्त्री रामनरेश रायले नियम कानुनको अभावमा विकासका कुरा कागजमा मात्रै सिमित भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री रायले कागजमा मात्रै संघीयता बनाइएको व्यवहारमा नभएकोले काम गर्न नसकिएको बताए ।

कांग्रेस, एमाले र माओवादीले कागजमा मात्रै संघीयता बनाएको आरोप रायले लगाए । प्रदेश सरकारलाई केही पनि अधिकार नदिइएको भन्दै उनले आक्रोष पोखेका छन् ।

“जुन प्रदेशमा मुख्यमन्त्री र मन्त्री चढ्नका लागि गाडी छैन, कुनै कार्यक्रममा जानका लागि गाडी छैन । कसरी काम गर्न सकिन्छ ?” उनले भने । “प्रधानमन्त्रीले हावादारी कुरा गरेर हुन्छ ? सत्य तथ्यमा आधारित कुरा गर्नुपर्छ । जबसम्म अधिकार हुँदैन, तबसम्म मन्त्रीले के गर्न सकिन्छ ?”

“म वनमन्त्री छु, तर जङ्गल सखाप भइरहेको छ । रोक्नका लागि मसँग कुनै अधिकार छैन । संघियता भनेर मात्रै हुन्छ? प्रदेश सरकारको अधिकार नै छैन ।” रायले आक्रोषित हुँदै भने ।

देशमा विकास गर्नका लागि प्रदेश सरकारलाई अधिकार दिनुपर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्